प्रधानमन्त्री कार्कीले गरिन् तीन मन्त्री सिफारिस

आइतबार, ०५ असोज २०८२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद् विस्तारका क्रममा विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वलाई मन्त्रीमा सिफारिस गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि पत्रकार जगदीश खरेललाई राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् । दुई दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय खरेल हाल इमेज टिभीका समाचार प्रमुख रहेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्राको नाम सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो । स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखिएपछि डा। मिश्राले आइतबार नै अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले विषयगत क्षेत्रका गैर–राजनीतिक विज्ञलाई मन्त्री बनाउने निर्णयअन्तर्गत यी नामहरू सिफारिस गरेकी हुन् ।

यस्तै सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई पनि दुई मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको छ । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको नेतृत्व दिन लागिएको हो ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार खरेल, डा. मिश्रासहित सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको छ । सोमबार उनीहरुका सपथ हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार