काठमाडौं : मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् हरिप्रसाद दाहालले बाह्य ठूलो प्रणाली नभई स्थानीयस्तरमा बनेको प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको बताए । उनका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज वर्षा भएको हो ।
देशको मधेश र बागमती प्रदेशलगायत कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको दाहालले जानकारी दिए । उनका अनुसार गण्डकीदेखि पूर्वका अधिकांश स्थानमा आज मध्यम वर्षा भएको छ ।
मौसमविद् दाहालले पछिल्लो तीन घण्टामा काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा भएको जानकारी दिएका छन् । उनले तीन घण्टामा भक्तपुरको ताथलीमा २४ दशमलव छ मिलिमिटर वर्षा भएको जनाउँदै रानीपोखरीमा १४ दशमलव छ मिलिमिटर र नैकापमा १४ मिलिमिटर वर्षा भएको बताएका छन् ।
यो प्रणालीका कारण भोलिसम्म मध्यम वर्षा जारी रहने जनाउँदै भोलिदेखि उक्त प्रणाली कमजोर हुँदै जाने मौसमविद् दाहालले बताए । विभागका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी गोरखामा ८७ दशमलव छ, गुल्मीमा ६२, लमजुङमा ६१ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । अन्य सिन्धुपाल्चोक, पर्सा, सुर्खेत, चितवनलगायत जिल्लामा पनि वर्षा भएको छ ।
यसैबिच काठमाडौँ उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसोदेखिको वर्षापछि अहिले बाढी आएको छ । यहाँका बागमती, विष्णुमती, बल्खु, धोविखोलालगायत नदीमा बाढी आएकाले नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया