सिड्नी : अस्ट्रेलियामा मूल्यवृद्धि चुलिँदै गएको छ । चालु वर्षको अगस्त महिनामा वार्षिक मुद्रास्फीति दर बढेर ३ प्रतिशत पुगेको छ, जुन पछिल्लो १३ महिनामै सबैभन्दा उच्च हो ।
अस्ट्रेलियाको तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार उपभोक्ता मूल्य सूचकांक पछिल्ला १२ महिनामा ३ प्रतिशतले बढ्यो । अघिल्लो जुलाईमा यो दर १.९ प्रतिशत र अगस्तमा २.८ प्रतिशत मात्र थियो । यो वृद्धिदर सन् २०२४ को अगस्तयता पहिलो पटक ३ प्रतिशत नाघेको हो, जब मुद्रास्फीति ३.५ प्रतिशत पुगेको थियो ।
मुद्रास्फीति बढ्नुमा आवास खर्चमा ४.५ प्रतिशत, खाद्य तथा नरम पेय पदार्थमा ३ प्रतिशत र चुरोटमा ६ प्रतिशत वृद्धिको ठूलो योगदान रहेको तथ्याङ्कले देखाएको छ । विशेष गरी बिजुली महसुलमा २४.६ प्रतिशतसम्मको वृद्धि उपभोक्तामाथि थप बोझ बनेको छ । सरकारी राहत योजना समाप्त भएपछि मूल्यवृद्धि झनै तीव्र भएको हो । राहतको प्रभाव हटाएर हेर्दा भने बिजुलीको मूल्यवृद्धि ५.९ प्रतिशतमा सीमित हुने तथ्याङ्क कार्यालयले स्पष्ट पारेको छ ।
राष्ट्रिय बैङ्कले प्राथमिकता दिने आधारभूत महँगी दर भने अगस्तमा २.६ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाभन्दा ०.१ प्रतिशतले कम हो । यद्यपि, अस्ट्रेलियाको मौद्रिक नीति समितिले हालैको अनुमानमा आगामी केही महिनासम्म मुद्रास्फीति ३ प्रतिशतभन्दा माथि रहने चेतावनी दिएको छ ।
प्रतिक्रिया