विराटनगर : विराटनगर महानगरपालिका–८ मधुमारास्थित गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले तास खेलिरहेको सूचनाका आधारमा बिहीबार साँझ ६ः३० बजेतिर छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुर साल्पासिलिछो गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४३ वर्षीय शङ्कर थापा, विराटनगर–८ का ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का र मोरङ कटहरी गाउँपालिका–१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई रहेका छन् ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेकाको साथबाट ९७ हजार १ सय ६५ रुपैयाँ नगद र ५ बुक तास बरामद गरिएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।
प्रतिक्रिया