आन्दोलनपछि शिवपुरीदेखि गुन्डु सम्मको ओलीको यात्रा, बस्नेतको छायामा पुनः सक्रिय हुने तयारी

आइतबार, १२ असोज २०८२

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको छत्रछायामा भक्तपुरस्थित गुन्डुमा बस्दै आएका छन्।

गत २३ र २४ को जेनजी आन्दोलन हिंसात्मक बनेपछि सत्ता छाडेर भागेका ओली १० दिनसम्म नेपाली सेनाको सुरक्षा घेरामा शिवपुरीमा बसेर बाहिरिएका थिए।

असोज २ गते सेनाको सुरक्षा घेराबाट निस्किएर सुटुक्क गुन्डी पुगेका अध्यक्ष ओलीलाई सयौं नेता कार्यकर्ताले घेरे पनि उनको अनुहारमा चमक थिएन।

आन्दोलनकारीले ओलीको घर जलाएर खरानी बनाएकाले नेता महेश बस्नेतको विशेष योजनामा उनलाई गुन्डुस्थित व्यक्तिको घरमा वासको व्यवस्था गरिएको छ। घरविहीन भएपछि डेरा सरेका ओलीले त्यहाँबाटै राजनीतिक ‘वामअप’ सुरु गरेका हुन्।

तर उनको अनुहारमा अझै चमक देखिएको छैन। मलीन अनुहारका ओलीलाई महेश बस्नेतसहित युवा सङ्घमा आबद्ध युवाहरूले भव्य स्वागत गरे। उनले आइतबार पार्टीको सचिवालय बैठकसमेत गुन्डुमै बोलाएका छन्।

मुलुकको पछिल्लो परिस्थितिलाई सामान्यीकरण गर्दै बिस्तारै पार्टीका गतिविधि सञ्चालन गर्ने योजना बनाएको र त्यसैअनुसार सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्।

घटना भएको तीन साता बितिसक्दा पनि पार्टीको औपचारिक छलफल हुन नसकेको अवस्थामा एमाले आइतबार ओली निवासमै बैठक बस्न तयार भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

‘मुलुकको पछिल्लो परिस्थिति र पार्टीको आगामी योजनाका सन्दर्भमा सचिवालय बैठकमा छलफल हुनेछ। पछिल्लो राजनीतिक घटनाक्रम र राजनीतिकताको नाममा गरिएका आपराधिक गतिविधिलाई एमालेले गम्भीरतापूर्वक लिएको छ,’ पोखरेलले भने।

अध्यक्ष ओलीले संविधान दिवस (३ असोज)कै दिन सार्वजनिक हुन र पार्टी निकटका युवा समर्थकहरूले खुसीयाली मनाउँदै उनको स्वागत गर्न सडकमा निस्कन योजनाबद्ध गरेका भए पनि त्यो दिन सार्वजनिक हुन वातावरण बन्न सकेन।

एमालेसहितका राजनीतिक दलहरूलाई युवा आन्दोलनले पार्टी पुनर्संरचना गरी नयाँ नेतृत्व खोज्ने सन्देश दिएको भनी चर्चा भइरहँदा पनि युवा सङ्घले अध्यक्ष ओलीलाई राजनेताकै उपमा दिएर स्वागत सत्कार गरिरहेको छ।

पार्टी बैठक राखेर थप सक्रिय हुने तयारी गरिरहेका ओलीलाई पार्टीभित्रका केही नेताहरूले स्वीकार गरेका छैनन्। पार्टी नेतृत्व हस्तान्तरण गरेर एमालेलाई पुनर्संरचित गर्नुपर्ने बताएका हुन्।

एमाले सचिव योग भट्टराईले नेतृत्वको सम्मानसहित पुनर्गठनको प्रस्ताव अघि सारेको बताएका छन्। उनले भने, ‘पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा व्याख्या गर्नु उचित छैन।

यदि आन्दोलनको वैभव, सङ्गठनको सामर्थ्य र अजेय विचार रहिरह्यो भने नेतृत्वको सम्मान र इतिहास टिकी रहनेछ।’

गत साता आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका ओलीले असोज ११ गते खुला कार्यक्रममा पहिलो पटक सम्बोधन गरे। दसैंको पूर्व सन्ध्यामा युवासंघ नेपालको शनिवार आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटको कार्यक्रममा उनले जेएनजी आन्दोलनपछिको मुलुकको परिस्थितिलाई जेनजीको नाममा आतङ्कको संज्ञा दिएका छन्।

जेएनजी प्रदर्शनपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। प्रदर्शन हिंसात्मक बनेपछि ओलीलाई बालुवाटारबाटै सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी शिवपुरीमा राखिएको थियो।

आफ्ना निकटका कार्यकर्ताको बलमा अहङ्कारी शैलीका अभिव्यक्ति दिन थालेका ओलीप्रति आम नागरिक सन्तुष्ट नभएको सामाजिक सञ्जालका टिप्पणीले देखाएका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कटाक्ष गर्दै उनले हालको सरकार तोडफोड र आगजनीबाट बनेको असंवैधानिक सरकार भएको आरोप लगाएका छन्।

‘जेएनजी सरकार भनिने यो सरकार संवैधानिक तरिकाबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड र आगजनीको माध्यमबाट बनेको हो,’ उनले भनेका छन्। सरकारले शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्न लागिरहेको विषयमा पनि ओलीले सरकारको आलोचना गरेका छन्।

‘पासपोर्ट रोक्ने—के ठानिएको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देशको जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेको ?’, उनले प्रश्न उठाएका छन्। सरकारले आफ्नो सुरक्षा सुनिश्चित गर्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमा आफ्नै घरको ठेगाना सार्वजनिक गरेर फेरि हमलाको आह्वान गर्दा सरकार बेखबर रहेको आरोप पनि लगाएका छन्।

अनलाइनबाट लोकेट गरेर आफ्नै घर घेर्न प्रयास भएको दाबी गरेका उनले सरकारले आफ्ना गर्ने निर्णयहरू सार्वजनिक गर्न चुनौती पनि दिएको बताएका छन्।यद्यपि ओलीले संवैधानिक तरिकाले निकास खोज्न राजनीतिक दल र सबै पक्षलाई आह्वान पनि गरेका छन्।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार