विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई २०८२ साल भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ।
राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले भदौ २८ गते विराटनगर–१५ बाट बन्दाकोपीमा लुकाइएका २ सय ६२ किलोभन्दा बढी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।
यससँगै उनले अपराध नियन्त्रणमा देखाएको सक्रियता उच्च प्रशंसा पाएको हो।
यस्तै, चोरी भएका ११ थान ल्यापटप, मोटरसाइकल, अटो ट्याम्पो, स्कुटर, ब्याट्री, इन्भर्टर, फ्रिज, एसी, सोफालगायतका सामग्री बरामद गरी सम्बन्धित धनीलाई बुझाउने उल्लेखनीय कार्यसमेत गरिएको थियो।
लागूऔषध नियन्त्रण ब्युरोसँगको समन्वयमा विराटनगर–१३ र १५ बाट ३ सय ३७ ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ गर्न सफल भएको कोशी प्रदेश प्रहरीले जनाएको छ।
यी सबै गतिविधिको मूल्याङ्कन गर्दै निरीक्षक राईलाई ‘भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो।
प्रतिक्रिया