इटहरी उपमहानगरको कार्यपालिका बैठक सम्पन्न : के के भयो निर्णय ?

सोमबार, १३ असोज २०८२
तस्बिरमा मेयर हेमकर्ण पौडेल र उपमेयर सङ्गीता चौधरी

इटहरी : जेनजी आन्दोलनपश्चात् क्षतिग्रस्त कार्यपालिकाको भवनमै सोमबार इटहरी उपमहानगरपालिकाको १५० औँ कार्यपालिका बैठक सम्पन्न भएको छ।

बैठकले नगरवासीको सुरक्षालाई प्राथमिकता दिँदै शान्ति, जनसुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन चारवटा महत्वपूर्ण निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए।

निर्णयअनुसार शान्ति–सुरक्षा सुदृढ गर्न इलाका प्रहरीलाई उपयुक्त स्थानमा पुनः व्यवस्थित गरिने छ। सोही स्थानबाट ट्राफिक प्रहरीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने निर्णयसमेत गरिएको छ।

यसले इटहरीभित्रको भिडभाड नियन्त्रण, दुर्घटना न्यूनीकरण र यातायात सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूका परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, नगरको सुरक्षालाई प्राथमिकता दिँदै अत्यावश्यक दमकल खरिद गरी तत्काल सञ्चालनमा ल्याउने निर्णय भएको छ।

आन्दोलनका क्रममा उपमहानगरको दमकलसहित मेयर बस्ने भवन र अन्य भौतिक संरचनामा आगजनीले क्षति पु¥याएको स्मरण गर्दै तत्काल नयाँ दमकल खरिद आवश्यक भएको बैठकले निष्कर्ष निकालेको हो।

बैठकले नगरवासीलाई शान्ति र सुरक्षामा सहकार्य गर्न आह्वानसमेत गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार