चीनद्वारा पानीमुनि ‘ऊर्जा–सक्षम’ डाटा सेन्टर परीक्षण

शुक्रबार, १७ असोज २०८२

अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टरहरू तातो भइरहने भएकाले एक चिनियाँ कम्पनीले समुद्रमुनि सर्भर राख्ने प्रयोगमार्फत कम्प्युटिङ क्षेत्रको ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ । 

यस योजनाअन्तर्गत साङ्घाईको नजिक समुद्रभित्र विशेष क्याप्सुल डुबाइनेछ, जसले प्रविधिगत दृष्टिले नवीन भए पनि यसको पारिस्थितिक प्रभाव र व्यावसायिक उपयोगिताबारे प्रश्न उठाइरहेको छ ।

सहर नजिकैको घाटमा ठूलो पहेँलो रङको क्याप्सुल तयारीको अन्तिम चरणमा पुगेको देखिन्छ । यसलाई पानीमुनि राखेर वैकल्पिक प्रविधि परीक्षण गर्ने तयारी भइरहेको हो । विश्वभरका वेबसाइट र एपहरू सञ्चालनका लागि डाटा सेन्टरहरू अपरिहार्य भइसकेका छन् र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारले तिनीहरूको माग झनै बढाइरहेको छ ।

“पानीमुनि सञ्चालनका आफ्नै फाइदा हुन्छन्”, समुद्री उपकरण निर्माण गर्ने कम्पनी हाइल्यान्डरका उपाध्यक्ष याङ येले भने । उनको कम्पनीले राज्य–स्वामित्वमा रहेका अन्य संस्थाहरूसँग मिलेर साङ्घाई परियोजनालाई अघि बढाइरहेको छ । 

भूमिगत सर्भरहरूलाई समुद्रको प्राकृतिक चिसो प्रवाहले स्वाभाविक रूपमा चिस्याउन सक्छ, जसका लागि सामान्य डाटा सेन्टरहरूले ऊर्जा–गहन वायु शीतलन वा पानी वाष्पीकरण प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ ।

यसअघि सन् २०१८ मा माइक्रोसफ्टले स्कटल्यान्डको तटमा यस्तै प्रविधि परीक्षण गरेको थियो । तर चीनमा अक्टोबरको मध्यतिर डुबाइने यो परियोजना विश्वकै पहिलो व्यावसायिक स्तरको सेवा मानिनेछ । यसमार्फत चीन टेलिकम र राज्य–स्वामित्वमा रहेको एआई कम्प्युटिङ कम्पनीजस्ता संस्थाहरूलाई सेवा पु¥याइनेछ । यसैसँगै, डाटा सेन्टरहरूको कार्बन उत्सर्जन घटाउन सरकारको बढ्दो दबाबलाई सम्बोधन गर्ने प्रयास पनि गरिएको छ ।

हाइल्यान्डरका उपाध्यक्ष याङका अनुसार पानीमुनि सञ्चालन हुने सुविधाले चिसो गर्न चाहिने ऊर्जाको झन्डै ९० प्रतिशत बचत गर्न सक्छ । तर विज्ञहरूले भने अहिले यस्ता योजनाहरू मुख्यतः प्राविधिक सम्भाव्यता देखाउन केन्द्रित रहेको बताउँछन् । क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइडका अनुसन्धानकर्ता साओलेई रेनका अनुसार यस्ता परियोजनाहरूले ठूलो स्तरमा व्यावसायिक प्रयोगमा आउनुअघि अझै धेरै चुनौती पार गर्नुपर्नेछ ।

माइक्रोसफ्टले आफ्नो पोड सन् २०२० मा पुनः प्राप्त गरेपछि परीक्षणलाई सफल भने पनि, त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गरेको थिएन । समुद्रको पिँधमा डाटा सेन्टर सञ्चालन गर्नुअघि निर्माण–सम्बन्धी गम्भीर चुनौती र वातावरणीय प्रभावका प्रश्न समाधान गर्नुपर्ने आवश्यकता अझै छ ।

चीनमा भने सरकारी सहयोगले यसलाई प्रोत्साहन दिइरहेको छ । उदाहरणका लागि, हाइल्यान्डरले सन् २०२२ मा हाइनान प्रान्तमा गरिएको समान परियोजनाका लागि चार करोड युआन (करिब ५६ लाख २० हजार अमेरिकी डलर) अनुदान प्राप्त गरेको थियो, जुन अझै सञ्चालनमा रहेको छ ।

साङ्घाई परियोजनामा संलग्न इन्जिनियर झो जुनका अनुसार पानीमुनिको डाटा सेन्टर निर्माण सुरुमा अपेक्षाभन्दा निकै जटिल रहेछ । समुद्रमा राख्नुअघि यसको कम्पोनेन्टहरू तटमा नै अलग–अलग बनाएर संयोजन गरिन्छ । यस संरचनाले नजिकैका अपतटीय पवन फार्मबाट लगभग सम्पूर्ण ऊर्जा प्राप्त गर्ने योजना छ, जसमा ९५ प्रतिशतभन्दा बढी ऊर्जा नवीकरणीय स्रोतबाट आउनेछ ।

तर समुद्री संरचनाको सबैभन्दा ठूलो चुनौती भनेको यसको सामग्रीलाई नुनिलो पानीले क्षय हुनबाट जोगाउनु हो । यसलाई समाधान गर्न हाइल्यान्डरले स्टिलको क्याप्सुललाई गिलास फाइबर भएको विशेष सुरक्षात्मक तहले ढाकेको छ । साथै, मर्मतका लागि पोडलाई पानीमाथि उठाउन सकिने लिफ्ट प्रणाली पनि जोडिनेछ ।

विज्ञ रेनका अनुसार समुद्रमुनिको डाटा सेन्टरलाई मुख्य भूमि इन्टरनेटसँग जडान गर्नु परम्परागत सर्भरहरूभन्दा बढी जटिल हुन्छ । थप रूपमा, अमेरिकाको फ्लोरिडा विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ इलेक्ट्रो–कम्युनिकेसनका अनुसन्धानकर्ताहरूले पानीमुनि सञ्चालित यस्ता केन्द्रहरू ध्वनि तरङ्गद्वारा आक्रमणको जोखिममा पर्न सक्ने निष्कर्ष निकालेका छन् ।

प्राविधिक अवरोध मात्र नभई पारिस्थितिक प्रभाव पनि महत्त्वपूर्ण प्रश्न बनेको छ । समुद्रमुनि स्थायी रूपमा डाटा सेन्टर राख्दा वरपरको पानीको तापक्रम परिवर्तन हुनसक्ने र त्यसले समुद्री जीवहरूको व्यवहारमा असर पार्नसक्ने अनुमान गरिएको छ । हल विश्वविद्यालयका समुद्री पारिस्थितिकीविद् एन्ड्र्यु वान्टका अनुसार उत्सर्जित गर्मीले कतिपय प्रजातिलाई आकर्षित गर्न सक्छ भने कतिपयलाई टाढा भगाउन सक्छ ।

हाइल्यान्डरले भने सन् २०२० मा झुहाई नजिक गरिएको परीक्षण परियोजनाको स्वतन्त्र मूल्याङ्कनले पानीको तापक्रम स्वीकार्य सीमाभन्दा तल नै रहेको देखाएको बताएको छ । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार