भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

आइतबार, २६ असोज २०८२

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार प्रहरीले पक्राउ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेपभित्र लुकाएर सुन भित्र्याउने प्रकरणमा संलग्न रहेको ठहर भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

यो प्रकरण सन् २०२२ डिसेम्बर २५ (२०७९ पुस १०) मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेट०५८७ बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङसँग जोडिएको हो । उनले ल्याएका दुईवटा सुटकेसमा रहेका ७३ वटा बट्टाभित्र ७३० थान ‘भेप’ भेटिएका थिए । सो भेपमा सुन लुकाइएको खुलेपछि यो घटना चर्चामा आएको थियो ।

अनुसन्धान अनुसार, ती भेपभित्र करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन तस्करी गरिएको थियो । सो सुन भन्सार कार्यालयका तत्कालीन नासु रेवन्त खड्कासहित केही कर्मचारीको मिलेमतोमा भित्र्याई बिक्री गरिएको तथ्य उजागर भएको छ । त्यस क्रममा महराले भन्सारमा दबाब दिएको आरोप लागेको छ ।

सुन तस्करी प्रकरणमा यसअघि उनका छोरा राहुल महरा पक्राउ परी कारागार चलान भइसकेका थिए । अब महराको पक्राउ यस घटनासँग सम्बन्धित तेस्रो अभियोजनको तयारीका रूपमा हेरिएको छ ।

सीआईबीले पछिल्ला दिनमा महरासँग बयान लिँदै आएको थियो । अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउने चिनियाँ नागरिक लुई हानसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलबीच लगातार सम्पर्क र कल रेकर्ड फेला परेको बताइएको छ ।

लामो समय राजनीतिक प्रभाव र शक्तिको आडमा अनुसन्धान अघि नबढेको यो फाइल महराको पक्राउसँगै पुनः तातिएको छ । सीआईबीले अब पूरक अभियोजनसहित फौजदारी मुद्दा दायर गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार