वीरगन्जमा राजस्व छापा : सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद

मंगलबार, २८ असोज २०८२

पर्सा : वीरगन्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका स्रोतका अनुसार माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी थियो।

छानबिनका क्रममा घरभित्रका विभिन्न कोठा र सुरक्षित स्थानहरूमा लुकाइएका सुनचाँदीका गहना, बन्धकी राखिएका बहुमूल्य वस्तुहरू तथा कारोबारसँग सम्बन्धित कागजातहरू बरामद गरिएको बताइएको छ।

सर्राफ वीरगन्ज–८ स्थित अभिषेक ज्वेलर्सका सञ्चालक हुन्। राजस्व चुहावटको आशङ्काका आधारमा राजस्व अनुसन्धान कार्यालयले उनको घर, व्यवसाय स्थल र गोदाममा एकैसाथ खानतलासी गरेको हो।

प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार कारोबारसँग सम्बन्धित खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू समेत कब्जामा लिइएका छन्।

कार्यालयले पठाएको पत्रमा भनिएको छ, “राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा खानतलासी गरिएको हो। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम आवश्यक प्रमाणहरू कब्जामा लिइनेछ।”

बरामद गरिएको सुन तथा अन्य सामग्रीहरू माईस्थानस्थित सुनचाँदी व्यवसायी सङ्घको कार्यालयमा लगेर तौल र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। सो क्रममा व्यवसायी अभिषेक सर्राफलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

छापामारीपछि वीरगन्जका सुन व्यवसाय र त्यससँग जोडिएका शङ्कास्पद कारोबारमाथि गम्भीर प्रश्न उठेका छन्। स्थानीय व्यवसायीहरूबिच यो घटनाले ठूलो हलचल मच्चाएको छ।

यसैबिच, स्थानीय सुनचाँदी व्यवसायीहरूले राजस्व अनुसन्धानको छापामारीको विरोध गर्दै नाराबाजी गरेका छन्।

उनीहरूले कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुःख दिइरहेको र त्रास फैलाएको आरोप लगाएका छन्। “घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुचित छ,” उनीहरूको भनाइ छ।

राजस्व अनुसन्धान कार्यालयले भने उक्त कार्य पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार भएको बताउँदै, “थप विवरणका लागि अनुसन्धान जारी छ,” भनेर स्पष्ट गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार