इटहरीमा साहित्यिक-सांस्कृतिक पुनःजागरणको खोजी

मंगलबार, १२ बैशाख २०८०
मनोज दाहाल/इटहरी कुनै बेला आदिवासी थारु (चौधरी) समुदायको सघन बसोबास रहेको इटहरी अचेल मिस्रित समुदायको केन्द्र बनेको छ । पहिले यहाँ सांगीतिक–साहित्यिक स्वाद भनेकै जातीय चाडपर्व र परम्परागत नाचगान मुख्य माध्यम थिए । मेला, पर्व अनि विभिन्न सांस्कृतिक उत्सवहरुमा प्रस्तुत हुने मौलिक संङ्गीत अनि साहित्य र कलाका अरु माध्यमले स्थानीय बासिन्दाको मनोरन्जन लिने आधार थिए । इटहरीको साहित्य, कला, सङ्गीतको इतिहासको कुरा गर्दा थारु समुदायका झुम्रालगायत परम्परागत नाचगान सम्झिन्छन् साहित्यिक क्षेत्रका अग्रज सम्पादक रमेश विष्ट । उनका अनुसार इटहरीमा त्यो बेलाको मनोरञ्जन र साहित्यिक गतिविधि यताका थारु कलाकारले प्रस्तुत गर्ने सांस्कृतिक नाचगान तथा भारतबाट आएका कलाकारले देखाउने हिन्दी भाषाका रामलीला, कृष्णचरित्र आदि धार्मिक नाटककै सेरोफेरामा सीमित थिए । अलिपछि कविरपन्थी साधुहरूको घुमन्ते समूह इटहरी आयो, जसले चार नम्बर पोखरी टोलसहित चोक-बस्तीमा हिन्दी कविताजस्ता हरफहरू गाएर सुनाउँथ्यो। इटहरीको साहित्यिक उठानको पृष्ठभूमि त्यही साधु-सङ्गीतमा गएर जोडिन्छ । २०२२ सालमा तेह्रथुमबाट इटहरी आएका विष्ट २०२३ सालमा जनता स्कुलमा भर्ना भए । बीच–बीचमा कक्षा फड्को मार्दै २०२४ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्दा उनी १८ वर्षका थिए । त्योबेला जनता स्कुलका प्रधानाध्यापक थिए भोजराज खनाल, उनले हरेक शुक्रबार चौथो घन्टीमा साहित्य गोष्ठी आयोजना गर्ने चलन चलाएका थिए । त्यो बेलाका गोष्ठीमा साहित्यिक रचना सुनाउने, गीत गाउनेहरू हुन्थे– रमेश विष्ट, प्रमोद श्रेष्ठ, लेखनाथ घिमिरे, ऋतु आशिक, वसन्त सुवेदी, भैरव राई, कालीप्रसाद वस्ती, गोपाल नेपाल, शेरबहादुर अमर, कुलचन्द्र काफ्ले, लालसिंह सुब्बा, चूडामणि फुयाँल, काजी फुयाँल, श्रीप्रसाद पोखरेल, राधा थापा, कमला थापा आदि । २०१७–१८ सालतिर राजा महेन्द्रले गरेको ‘कु’ विरुद्ध समाज जागरणको प्रारम्भिक समय थियो । त्यो बेला किसान भेलाका नाममा साहित्यिक आवरणमा राजनीतिक जागरणका कुरा हुन्थे । धरान–विराटनगरसहित सेरोफेरोका स्रष्टा इटहरीमा भेला गरिन्थे । त्यसको संयोजन प्रेमबहादुर कार्कीले गर्थे । त्यति बेलासम्म इटहरीमा साहित्यिक संस्थाहरू थिएनन् । बिस्तारै स्कुलहरुमा विद्यार्थीलक्षित साहित्यिक कार्यक्रम हुन थाले । लक्ष्मी जयन्ती, बुद्ध जयन्ती, भानु जयन्ती, नयाँ वर्ष, राजाका जन्म दिनहरूमा साहित्यिक गोष्ठी हुन्थे । त्यस्ता गोष्ठीमा नियमितजसो सहभागी हुन्थे बिष्ट । ‘२०२३ सालमा स्कुलमा भएको कवि गोष्ठीमा बाढी आयो शीर्षकको कविता सुनाएर पहिलो भएँ’ बिष्ट सम्झन्छन्, ‘जसले मलाई निरन्तर साहित्यमा लाग्न प्रेरित ग¥यो ।’ २०२५ सालमा इटहरीका समकालीन स्रष्टा मिलेर पसिना वाचनालय तथा जागृति पुस्तकालय स्थापना गरे । त्यही सेरोफेरोमा रमेश बिष्ट, वसन्त सुवेदी, मधु रिमालले ‘झुत्तो’ नामक सामयिक सङ्कलन भारतबाट छपाएर ल्याए र इटहरीमा बाँडे । त्यही सामयिक सङ्कलन नै इटहरीको साहित्यिक इतिहासको पहिलो दस्तावेजका रुपमा मानिन्छ । त्यो बेला साहित्यिक पत्रिका दर्ता तथा प्रकाशन गर्ने अनुमति पाइँदैनथ्यो । कथा, कविता, लेख, विचारहरू सामयिक सङ्कलनका नाममा छाप्नुपर्थ्यो । रमेश बिष्टसहित साहित्यिक सङ्गतिले २०२७ सालमा ‘जनमुक्ति’ नामक अर्को सामयिक सङ्कलन पनि प्रकाशित ग¥यो । २०१७ सालमा सिक्किमबाट साहित्यकार धरणीधर दाहाल झापा, बुधबारे हुँदै इटहरी आए । दाहालले मानवशास्त्र विधामा लेखेको पुस्तक ‘नृवंश शास्त्र’ मा आधारित ‘म, प्रियसी, नानीहरू जोड मिसाइल बराबर जिरो’ शीर्षकको नाटक एक समयको चर्चित प्रस्तुति थियो । इटहरी आएपछि दाहालले यहाँ छरिएर रहेको साहित्यिक जमातलाई सङ्गठित गरे । साहित्यिक सङ्गतिहरूको घेरो बढाए । भाषाशास्त्री, कवि महानन्द सापकोटालगायत अग्रज स्रष्टाहरू दाहाललाई भेट्न इटहरी आउँथे । २०४३ सालमा दाहालको नेतृत्वमा इटहरी साहित्यिक समूह ९इसास० नामक संस्था गठन भयो, जसले नियमित खुला कविता गोष्ठी, छन्द कविता गोष्ठी, लघुकथा गोष्ठीलगायत कार्यक्रम गर्न थाल्यो । इसासले आजसम्म पनि विभिन्न साहित्यिक गतिविधिहरू गर्दै आएको छ । सोही समूहले २०४६ सालमा ‘पूर्वाञ्चल’ नामक कविता सँगालो प्रकाशित गरेको थियो, जसको विमोचन पञ्चायत भवन परिसरमा पूर्वाञ्चल स्तरीय कविता गोष्ठीसहित भएको थियो । मुख्य अतिथि थिए– तत्कालीन शिक्षामन्त्री कवि क्षेत्रप्रताप अधिकारी । ‘त्यस्तो भव्य र स्तरीय कार्यक्रम इटहरीमा कमै भएका छन्,’ इसासका निवर्तमान अध्यक्ष श्रीप्रसाद पोखरेल भन्छन्, ‘२०४३ देखि २०४६ सम्मको अवधि इटहरीको साहित्यिक–वृत्तको स्वर्णकाल थियो भन्दा फरक पर्दैन ।’ पोखरेलका अनुसार २०४६ पछि स्रष्टाहरू राजनीतिक रूपमा विभक्त भए । आ–आफ्नो राजनीतिक–वैचारिक अस्तित्व देखाउने क्रममा सङ्गठित साहित्यिक अभ्यासहरू भने फितला भए । यद्यपि २०५४ सालमा स्थानीय स्रष्टाहरूले जनकविकेशरी धर्मराज थापालाई इटहरी बोलाएर स्तरीय साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो । त्यो बेला इटहरीको साहित्यिक–शैक्षिक जमातमा शेरबहादुर अमर ९भुजेल० चर्चित नाम हो । जनता माविका शिक्षकसमेत रहेका उनको पञ्चायत कालमै ‘देशलाई खोज्दा’ नामक कविता–गीतसङ्ग्रह प्रकाशित भएको थियो । कलाकारसमेत रहेका उनको ‘बलभद्रको देश हो यो लालीगुराँस फुल्दछ’ बोलको गीत प्रायः साङ्गीतिक–सांस्कृतिक कार्यक्रममा सामूहिक नाचसहित प्रस्तुत हुने गर्थ्यो । इटहरीको कला तथा साहित्यको विकासका लागि उल्लिखितबाहेक विभिन्न सङ्घ–संस्थाले समय क्रममा गरेको कार्य एवं योगदान अतुलनीय छ । सङ्कल्प नाट्य जमात, इटहरी कला प्रतिष्ठान, मदानी समूह, प्रभात सङ्गीत समूह, पूर्वाञ्चल सङ्गीत विद्यालय, अमूल्य ब्यान्ड, मेलोडी साङ्गीतिक समूह, वि–सेभेन ब्यान्डलगायत संस्थाले इटहरीको कला तथा साहित्यको विकासमा इँटा थपेका थिए । तर हाल ती संस्था क्रियाशील छैनन् । अलिपछि इटहरीबाट ‘गौँडो’ नामक सामयिक सङ्कलन निस्कियो । दिनेश पौडेललगायतको पहलमा ‘कोसेढुङ्गा’ साहित्यिक पत्रिका १२ अङ्क र प्रमिथस एक अङ्क प्रकाशित भयो । कृष्णविनोद लम्सालको सम्पादनमा ‘प्रगति’ पाक्षिक पत्रिकाले पनि साहित्यिक विशेषाङ्क प्रकाशित गर्थ्यो । केशव सुनाम, बद्रीविशाल पोखरेलहरूको पहलमा ‘स्रष्टा–सङ्गम’ ब्यानरमा सडक कविता–वाचन कार्यक्रम करिब एक वर्ष चलेको थियो । तिनै दिनहरूमा मनु मन्जिल, कुमुद अधिकारी, दिनेश पौडेल, रामजी तिमल्सिना, हेमन यात्री, सविता गौतम दाहाल, ज्योति जङ्गल, शालिकराम ढकाल, श्रीधर शर्मा, सुकदेव अधिकारीलगायत स्रष्टाहरू इटहरीमा साप्ताहिक भेला भएर प्रकाशित हुनुपूर्व आफ्ना रचनाको आन्तरिक समीक्षा गर्थे । सिर्जन समूह (राइटर्स सर्कल) नाम दिइएको सो साहित्यिक गतिविधि २०६५ देखि २०६९ सम्म चलेको थियो । कोसी कलेज इटहरीका विद्यार्थीलक्षित ‘रिडर्स सर्कल’ नामक विशेष साहित्यिक गतिविधि पनि दुई वर्ष चल्यो । २०६६–०६८ सम्म चलेको यस गतिविधिअन्तर्गत कलेजका शिक्षक तथा विद्यार्थीलाई विभिन्न साहित्यिक पुस्तक पढ्न दिइन्थ्यो । पढिसके पछि भेला भएर समीक्षा गरिन्थ्यो । यस्तो पृष्ठभूमिबाट इटहरीको साहित्य तथा कला माथि उठेको हो । पछिल्लो समय राजनीतिक–प्रशासनिक नेतृत्वले खासै महत्व नदिँदा इटहरीको कला–साहित्यसम्बन्धी गतिविधि भने अपेक्षित रूपमा अघि बढ्न सकेन । कवि तथा कलाकार विक्रमश्रिका शब्दमा भन्दा– छँदाखाँदाको सांस्कृतिक भवन तथा नगर पुस्तकालयमा राजनीतिक हस्तक्षेप भयो । कवि–कलाकारहरूले निःशुल्क कार्यक्रम गर्न पाउने थलो खोसियो । काव्य–वाटिका मासेर वडा कार्यालय बनाइयो । ग्रामथानमा डोजर चलाइयो । साहित्यिक, सांस्कृतिक प्रतिष्ठा बढाउने काममा बेवास्ता भयो । राजनीतिक नेतृत्वले बेवास्ता गरे पनि इटहरीका स्रस्टा–कलाकार तथा पछिल्लो समय गठन भएका संस्थाहरूको पहलमा साहित्यिक एवं कलासम्बन्धी गतिविधिहरू भइ नै रहे, जसले इटहरीको कला र साहित्यका उत्साहजनक इतिहासलाई बचाउने प्रयास गरी नै राखे । ‘साहित्य यस्तो विधा हो, जहाँ राजनीतिक दल, जात, धर्म, लिङ्ग, वर्ण र उमेरले फरक पार्दैन । जहाँ क्षमताको कदर हुन्छ । आत्मीयता साटासाट हुन्छ,’ कवि मनु मन्जिल भन्छन्, ‘परिस्थिति जे भए पनि साहित्य आफ्नो बाटो बनाउँदै अघि बढ्छ ।’ हाल इटहरी साहित्यिक समूह, अच्छा राई रसिक साहित्य प्रतिष्ठान, सङ्गीत साधना प्रतिष्ठान नेपाल, कलालय, इटहरी म्याट्रिक्स, जनजागरण पुस्तकालय, साहित्य सञ्चार प्रतिष्ठान, जिबी लुगुन प्रतिष्ठान, प्रश्रित प्रतिष्ठान, क्यानभास साहित्य समाज, सगरमाथा साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्यिक समूह, शब्द प्रवाह, डियर कल्याण प्रतिष्ठानलगायत सङ्घ–संस्थाले इटहरीको कला तथा साहित्यिक विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । त्यस्तै, मुकुल दाहालको सम्पादनमा ‘पेन हिमालय’ नामक अङ्ग्रेजी पोर्टल, कुमुद अधिकारीको सम्पादनमा साहित्य–सरिता नामक अनलाइन तथा दिनेश पौडेलको सम्पादनमा ‘शब्दसार’ पत्रिकासहित विभिन्न स्रष्टाका कला, साहित्यिक एवं साङ्गीतिक गतिविधिले इटहरी क्षेत्रको कला तथा साहित्यिक तिर्खा मेट्ने प्रयास गरिरहेका छन् । इटहरीमा साहित्यका हिसाबले पिताम्बर भोला लम्साल, भरत शर्मा गैरीपिप्ली, मुक्ति पोखरेल, जिबी लुगुन, चूडावसन्त लम्साल, बद्री भिखारी, कृष्ण अधिकारीलगायत व्यक्तित्व अग्रज स्रष्टाका रूपमा परिचित छन् । मनु मन्जिल, दिनेश पौडेल, कुमुद अधिकारी, हेमन यात्री, देवान किराती, सुविद गुरागार्इं, गायत्री लम्साल, निरज कोइराला, हेमन्त गौतम, वीरेन्द्र कार्की, जगदीश सापकोटा, विक्रमश्रि, अविराम क्रान्ति, केशव दाहाल, शर्मिला दाहाललगायत बीच छिमलका साहित्यकारहरू हुन् । वियोग सापकोटा, टीका आत्रेय, राम खरेल, राज आशातीत, जिपी तिवारी, जिबी गजल, नवराज मैनाली, सन्तोष यादव, सिएन गौतम, प्रज्ज्वल पराजुली, विराट अनुपम, विनय सरगम, किरण सिवा, विवेकविवश रेग्मी, मीना श्रेष्ठ, विकेश कविन, मिरा पोखरेल, आलोक खनाल, सुमन रेग्मी, आदि नयाँ पुस्ताका साहित्यकार–लेखकका रूपमा परिचित छन् । इटहरीमा साहित्यिक गतिविधि संस्थागत रूपमा जीवन्त राख्न सरकारी स्तरबाट विशेष कदम चालिनुपर्ने आवश्यकता रहेको साहित्यकार दिनेश पौडेल बताउँछन् । त्यसो त इटहरीको कला–साहित्य क्षेत्रको विकासका लागि भन्दै उपमहानगरपालिकाले २०७८ माघमा साहित्यकार कृष्णविनोद लम्सालको संयोजकत्वमा ‘इटहरी भाषा, कला, साहित्य, सिर्जना परिषद्’ गठन गरेको छ । परिषदमा मणिराज गुरुङ तथा टीका आत्रेय सह–संयोजक, बद्री भिखारी सचिव, वासुदेव तिम्सिना सहसचिव र प्रज्ज्वल पराजुली कोषाध्यक्ष छन् । रीता ताम्राकार, सुष्मा तिम्सिना, दुर्गा दाहाल, अभिषेक तिम्सिना, सोनु जयन्ती, दिनेश कोइराला, प्रकाश सुब्बा, हेमन्त गौतम र नवीन न्यौपाने सदस्य छन् । परिषदले २०७८ चैतमा दुई दिने ‘इटहरी सिर्जना उत्सव’ आयोजना गरेको थियो, जसमा कला तथा साहित्य क्षेत्रका व्यक्तित्वहरू बद्रीविशाल पोखरेल, कृष्ण अधिकारी, मनु मन्जिल, लालसिंह सुब्बा, होम घिसिङ, नवल नेपाल, विक्रमश्रि, गुरुदयाल चौधरीलाई सम्मान गरिएको थियो । यसबाहेक कला–साहित्य क्षेत्रलाई नगरपालिकाले उचित स्थान दिन नसकेको स्रष्टाहरूको गुनासो छ । कलाकार विक्रमश्रिका अनुसार इटहरीमा बजेट विनियोजन हुँदा कला–साहित्यको विकासलाई प्राथमिकता दिने चलन र राजनीतिक संस्कार नै छैन । उपमहानगरपालिकाले २०७७–०७८ मा साहित्यिक कार्यक्रम, स्रष्टा–सम्मान तथा काव्य पुरस्कारका लागि तीन लाख, सङ्गीत विद्यालय सञ्चालनका लागि चार लाख, भाषा, साहित्य सिर्जना तथा सांस्कृतिक दिवस, चाड शीर्षकमा तीन लाख रुपैयाँ छुट्याएको थियो । २०७८–०७९ मा भने साहित्यिक कार्यक्रम, स्रष्टा–सम्मान तथा काव्य पुरस्कारअन्तर्गत दुई लाख, सङ्गीत साधना प्रतिष्ठानलाई पाँच लाख, भाषा, कला, साहित्य सिर्जना परिषदलाई दुई लाख, सांस्कृतिक दिवस तथा चाड सहयोगअन्तर्गत तीन लाख बजेट विनियोजित थियो । उपमहानगरपालिकाले कला, साहित्य, सङ्गीतको विकासका लागि अपेक्षित बजेट विनियोजन नगरेको तथा पुस्तकालय उत्थानका निम्ति कुनै कदम नचालेको भन्दै इटहरीका स्रष्टाहरू आन्दोलनमा समेत उत्रिएका थिए । यहाँको कला तथा साहित्य क्षेत्रको विकासका लागि पछिल्लो पाँच वर्ष उपलब्धिमूलक हुन नसकेको स्रष्टा मिथिला पोखरेलको भनाइ छ । नयाँ संरचना निर्माण त परको कुरा भयो, भएकै पुस्तकालय तथा सांस्कृतिक भवनसमेतको संरक्षण र सदुपयोग हुन नसकेको पोखरेल बताउँछिन् । इटहरी उपमहानगरपालिकाका सल्लाहकार बद्रीविशाल पोखरेलले आफ्नो सल्लाह सुनुवाइ नभएको भन्दै राजीनामा दिएका थिए । उनले राजीनामा–पत्रको सुरुवातमा नै ‘सर्पहरू गीत–सङ्गीत सुन्दै–सुन्दैनन्’ भन्दै व्यङ्ग्य कसेका थिए । स्थानीय सरकारले कला तथा साहित्यका क्षेत्रका लागि केही बजेट छुट्याउने गरेको भए पनि अपनत्व ग्रहण गर्न नसकेको रङ्गकर्मी सोनु जयन्तीको गुनासो छ । इटहरीको कला तथा साहित्यको विकासका लागि स्थानीय सरकारले शून्य अवस्थाबाट नै काम गर्न आवश्यक रहेको उनको भनाइ छ । साहित्य क्षेत्रको विकासका लागि योजना बनाएरनै अघि बढ्ने तयारी उपमहानगरको छ । ‘इटहरी भाषा, कला, साहित्य, सिर्जना परिषद्’ लगायत इटहरीमा रहेका अन्य कला तथा साहित्यका संघ संस्थाहरुसगँ छलफल गरेर योजना बनाइने र सोही अनुसार बजेट बिनियोजन गरिने उपमहानगर पालिकाले जनाएको छ । कुनै पनि ठाउँको विकासको आधार भौतिक पूर्वाधारलाई मात्र मान्न सकिंदैन । त्यहाँको भाषा, साहित्य, संगीत र संस्कृति अनि रहनसहन कस्तो छ भन्ने कुराले मुख्य पहिचान बनाउँछ । त्यसैले ती कुराहरुको विकासका लागि स्थानीय सरकारको ध्यान जानैपर्छ । स्थानीय जनप्रतिनिधिले पूर्वाधार विकाससँगै कला, साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा पनि उत्तिकै ध्यान दिनुपर्ने स्रष्टाहरुको जोड छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार