विजय राई ‘कात्तिक महिनाको उत्कृष्ट प्रहरी’ घोषित

आइतबार, ०७ मंसिर २०८२

इलाम :  जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक ‘असई’ विजय राई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । 

जिल्ला प्रहरी कार्यालय इलामले राईलाई ‘पुलिस अफ द मन्थ’ घोषित गरेको हो । 

जिल्ला प्रहरी कार्यालय इलामले विभिन्न सूचकाङ्कका आधारमा उनको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै सम्मान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एकनारायण कोईरालाका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै समुदाय–प्रहरीबीचको विश्वास, सहकार्य र आत्मीयता वृद्धि गर्न महत्वपूर्ण योगदान दिएको कारण राईलाई ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो । 

प्रहरीका अनुसार राईले जिल्लाभित्रका सामाजिक निकाय, विद्यालय, समुदाय, टोल विकास संस्था, महिला समूह, युवा क्लब तथा व्यापारिक संघ–संगठनसँग नियमित समन्वय गर्दै सामाजिक, आर्थिक तथा आपराधिक अवस्थाबारे तथ्यगत जानकारी संकलन गरेका छन्। 

सम्भावित जोखिम क्षेत्र पहिचान, स्थानीयस्तरमा देखिन सक्ने विवाद तथा आपराधिक गतिविधिको रोकथाममा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, उनले स्थानीय रेडियोमार्फत लागूपदार्थ दुरुपयोग, साइबर अपराध, ट्राफिक शिक्षा, लिङ्ग आधारित हिंसा, मानव बेचबिखन, दैवीप्रकोप व्यवस्थापन तथा शान्ति–सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रसारण गर्दै आएका छन् ।

 प्रहरी र समुदायबीचको सहकार्य र साझेदारी बढाउन सामान्य नागरिकलाई सहज भाषामा सूचनाप्रवाह गरेको कार्यालयले जनाएको छ।

राईले विद्यालय तथा समुदायस्तरमा युवालाई सकारात्मक गतिविधिमा सहभागी गराउँदै उनीहरूलाई नेतृत्वदायी भूमिकामा सक्रिय तुल्याउने वातावरण सिर्जना गरेका छन्।

बाढी, पहिरो तथा अन्य आकस्मिक विपत्का समयमा स्थानीय जनप्रतिनिधि, नागरिक समाज, स्वयंसेवी समूहसँग समन्वय गरी राहत तथा उद्धार कार्यमा पनि उनको पहलकदमी उल्लेखनीय रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार