मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा आज रेमिटेन्सको भरमा चलेको छ। राष्ट्रले वैदेशिक रोजगारीलाई नीति–नियममार्फत औपचारिक मान्यता दिएको छ, सीप सिकाउनेदेखि अनुमति प्रक्रिया सहज बनाउनेसम्म राज्य स्वयं सक्रिय देखिन्छ। तर यतिबेला विदेशिनेको संख्या बढ्नु केवल औपचारिकताले होइन, देशभित्र पर्याप्त रोजगारी नहुनु र भएको आम्दानीले परिवार चलाउन नसकिने कठोर वास्तविकताले हो।
युवाहरू खाडीका मरुभूमिदेखि कोरिया, मलेसिया, जापानसम्म पसिना बगाइरहेका छन्। कसैले परिवार उठाएका छन्, कसैले परिवारै टुटाएका छन्। घर–परिवार, मायामोह र सपनालाई पछि पारेर विदेशिने हजारौं कथाहरू हामीले समाचार र तथ्यांकमा देख्छौं, तर सडकमा गुड्ने सवारी साधनमा लेखिएका सटिक, तीतो र चोटिल साहित्यिक पंक्तिहरूले तिनै कथालाई यथार्थ र भावनासहित झन् गहिरो बनाइदिन्छन्।
गाडी साहुजी र गुरुजीले मन पराएर सवारीमा लेख्ने ती साहित्यिक वाक्यहरू सतही मनोरञ्जन मात्र होइनन्ती, समाजको भोगाइ, पीडा, व्यंग्य र चेतना सबैको मिश्रण हुन्।
यस लेखमा वैदेशिक रोजगारीसँग जोडिएका यस्तै ‘सडकका साहित्य’, दु:ख र व्यंग्य मिसिएका अमूल्य पंक्तिहरू र ती पंक्तिले बोकेको सामाजिकीकरणको प्रभाव समेटिएको छ।
वैदेशिक रोजगारीको बाध्यता, गुरुजीका शब्दमा पीडा
परिवारका लागि कमाउनै पर्ने बाध्यता, घरधन्दा छाडेर विदेशिनुपर्ने विवशता र मायाप्रेमभन्दा पेटको जोहो प्राथमिक हुने यथार्थ गुरुजीका यी पंक्तिहरूमा छर्लंग देखिन्छ,
“मायाले संसार चल्ने भए,
मुनालाई छोडी मदन किन भोट गए?”
– ना ४ ख ३७८१
विदेशिने युवाको रोदन, घरको चासो, बुबाआमाको भरोसा, सबै यही दुःखी शैलीमा अटाएका छन्।
राजनीतिक अस्थिरता र युवाको पलायन, कटाक्षको धार
देशमा जुनसुकै सरकार आए पनि स्थिति उस्तै रहने, युवाको भविष्य झल्याँस्स सुकेका गहत जस्तै देखिने, अवसरहीनता र निराशाले भरिएको व्यंग्य पनि सवारीमा झल्किन्छ।
“सुधारियो नेपाल भनी आएको हतारै हतारमा,
पाइन्छ दुःख नजाऊ है अब त्यो खाडी, साउदी र कतारमा।”
– ना ४ ख २४७०
देशभित्र रोजगारी नदिने व्यवस्था र युवालाई ‘रोजगारका नाममा विदेश धकेल्ने’ प्रशासनिक संरचनाप्रति यही हो तीक्ष्ण टिप्पणी।
विदेशिएका श्रीमान र घरमा भड्किएको विश्वास
गुरुजीले समाजको अर्को पीडादायी पक्ष उठाएका छन्, वैदेशिक रोजगारीले जन्माएका वैवाहिक विचलनहरू। विदेशिएर पसिना बगाउने श्रीमान, र यसैबीच पत्नीद्वारा विश्वासघात। यस्ता पंक्तिहरू केवल मनोरञ्जनका लागि होइनन्, समाजको तितो सत्य हो।
“आजकलका सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन्,
बिचरा कतारमा बस्ने रामलाई के थाहा।”
– बा २ ख ६११
युवाहरू विदेशमा दुःख झेलिरहँदा यता परिवार भत्किएको सुन्नुपर्ने पीडा कति गहिरो हुन्छ, यिनै पंक्तिहरू बोल्छन्।
“लोग्ने हिँड्यो साउदीको खाडीमा,
स्वास्नी चढी अर्कैको गाडीमा,
तीन वर्षमा फर्किँदा बूढी बेपत्ता।”
– लु २ च २३२२
विदेश जाने सपनाको अन्त्यमा, निराशाको कथा
पहिले आर्थिक संकट, त्यसपछि विदेश, अन्त्यमा शरीर नै रोगी भएर फर्किनुपर्ने नियति पनि यी साहित्यमा झनै खाल्टो पारेर उतारिएको छ।
“निठुरीलाई माया गरी यो ज्यानलाई रोगी बनाएँ,
माया त मोह रहेछ, आफैंलाई जोगी बनाएँ।”
– ना २ ख ६८४५
विदेशिनु केवल आम्दानीको यात्रामात्र होइन, विभाजन, रोग, मानसिक पीडा र चर्मोनति भोग्दै घर फर्किने कथासमेत यिनै हरफहरूले बोक्छन्।
विदेश गएका श्रीमानको प्रतिक्षामा बस्ने पत्नीका कथा
गुरुजीको साहित्य केवल महिलामाथिको कटाक्ष मात्रै होइन। विदेशमा श्रीमान परेको बेलामा आँगनमै आशा बोकेर बसेकी श्रीमतीको पवित्र प्रतीक्षा पनि उत्तिकै मार्मिक छ।
“रुने–हाँस्ने जिन्दगी यो मरी जाने चोला,
दोबाटोमा छोडी गयौं, भेट कहिले होला?”
– ना २ ख २०८७
यस्ता पंक्तिले हजारौं नेपाली पत्नीको प्रतिक्षा, चिन्ता र एक्लोपनालाई सहजै चित्रण गर्छ।
नेपालमा सवारी साधनमा साहित्य लेख्ने परम्परा भारतबाट आएको भए पनि, अब यो स्वयं नेपाली सडक–संस्कृति बनेको छ। यी पंक्तिहरू कसैले स्वयंसर्जित, कसैले साभार तर, पाठ भने समाजकै भोगाइ हो।
प्रतिक्रिया