एमाले महाधिवेशनस्थल चिटिक्क : साजसज्जा र प्रविधिले भरिपूर्ण

सोमबार, २९ मंसिर २०८२

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनस्थल प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप साजसज्जा, व्यवस्थापन र प्रविधिको उच्च प्रयोगका कारण विशेष आकर्षणको केन्द्र बनेको छ।

महाधिवेशनस्थलमा प्रवेश गर्ने बित्तिकै राष्ट्रियगानदेखि लोक, आधुनिक र शास्त्रीय सङ्गीतका मधुर धुनहरू सुनिन्छन्। सङ्गीतसँगै चिटिक्क साजसज्जाले महाधिवेशनको वातावरणलाई अझ भव्य बनाएको छ।

महाधिवेशन प्रतिनिधि हिँड्ने छुट्टै मार्ग निर्माण गरिएको छ भने फूलबारी क्षेत्रमा प्रजा परिषद् हुँदै कम्युनिष्ट आन्दोलनको इतिहास झल्काउने तस्बिर र विवरणसहितका ‘बोर्ड’ राखिएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिर एकै स्थानमा राखिएको छ। साथै प्रतिनिधि मार्ग आसपासमा पार्टीको ७६ वर्षे इतिहास समेटिएको सामग्री राखिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिरको तस्बिरले पनि स्थललाई थप आकर्षक बनाएको छ।

महाधिवेशन प्रतिनिधि तथा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य अनिता पाण्डेले व्यवस्थापनमा स्वयंसेवकहरूको भूमिका प्रशंसनीय रहेको बताइन्। उनले सूचना प्रविधिको उच्चतम प्रयोग र नेपाली संस्कृति झल्किने सजावटले महाधिवेशनलाई फरक बनाएको उल्लेख गरिन्।

“विगतका महाधिवेशनभन्दा अहिलेको महाधिवेशन फरक र विशेष छ,” उनले भनिन्, “देशको संस्कृति झल्किने गरी स्टलहरू सजाइएका छन्।”

झापाबाट सहभागी प्रतिनिधि गणेश ढकालले पनि महाधिवेशनस्थल व्यवस्थित, सुन्दर र भव्य लागेको बताए। “बस्न, छलफल गर्न पर्याप्त स्थान छ, खानपान पनि सफा र व्यवस्थित छ,” उनले भने।

महाधिवेशनस्थलभरि पार्टीका झण्डा फरफराइरहेका छन्। प्रतिनिधिका लागि स्वास्थ्य सेवा कक्ष छुट्टै व्यवस्था गरिएको छ भने स्थललाई सभ्य र व्यवस्थित बनाउन स्वयंसेवकहरू सक्रिय देखिन्छन्। खाजा र खानाका लागि पर्याप्त स्टलको व्यवस्था गरिएको छ, जसमा मुस्लिम समुदायका लागि छुट्टै स्टलसमेत राखिएको छ।

भित्रको बगैँचामा बस्न, आन्तरिक भेटघाट र छलफलका लागि खुला स्थानको व्यवस्था गरिएको छ। सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ९० वटा विद्युतीय भोटिङ मेसिन राखिएका छन्। ‘म भोटिङ मेसिनबाट मतदान गर्छु’ भन्ने सन्देशसहित छुट्टै कक्ष तयार गरिएको छ।

महाधिवेशन हल आकर्षक ढङ्गले सजाइएको छ। प्रवेशद्वारमा क्युआर कोड परीक्षणपछि मात्र प्रतिनिधिलाई भित्र प्रवेश दिइने व्यवस्था मिलाइएको छ, जसले सुरक्षालाई थप प्रभावकारी बनाएको छ।

मङ्सिर २७ गतेदेखि सुरु भएको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, नेता र कार्यकर्ताबीच भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले चहलपहल बढेको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा महाधिवेशनस्थलको ठाउँ–ठाउँमा देख्न सकिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार