विराटनगर : पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् । केही दिनदेखि झापाको दमकमा रहँदै आएका शाह आज बिहान विराटनगर पुगेर काली मन्दिरको दर्शन गरेको जनाइएको छ।
पूर्वराजा शाह मन्दिर परिसर पुग्दा काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपाललगायत पदाधिकारीहरूले स्वागत गरेका थिए। यस क्रममा मन्दिर परिसरमा पूर्वराजाको दर्शनका लागि समर्थक तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको देखिएको थियो।
मन्दिर प्रवेशपछि पूर्वराजा शाहले विधिपूर्वक पूजा अर्चना गर्नुभएको बताइएको छ। पुरोहितहरूले स्वस्तिवाचन र मन्त्रोच्चारणका साथ पूजामा सहभागी गराएको जानकारी मन्दिर स्रोतले जनाएको छ।
करिब आधा घण्टा मन्दिरमा बिताएका पूर्वराजा शाहले आरतीमा समेत सहभागी भई टीका र प्रसाद ग्रहण गर्नुभएको जनाइएको छ।
प्रतिक्रिया