इटहरी : तेस्रो इन्टर कलेज टि–२० क्रिकेट टुर्नामेन्टअन्तर्गत आज सम्पन्न पहिलो खेलमा नमुना कलेज इटहरीले विश्व आदर्श कलेज ‘बी’ टिमलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
विश्व आदर्श कलेजले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नमुना कलेजले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १५५ रन बनाएको बताइएको छ। नमुनाका लागि गौरब कटुवालले २० बलमा ४० रन, राजु बी.के.ले २२ बलमा ३३ रन र बिपुल शाहले २१ रनको योगदान दिएका थिए।
बलिङतर्फ विश्व आदर्श कलेजका अनिल आचार्य र जस्बिन ढुंगानाले १–१ विकेट लिएको जनाइएको छ।
१५६ रनको लक्ष्य पछ्याउने क्रममा विश्व आदर्श कलेज १० ओभर १ बलमै सबै विकेट गुमाउँदै ५३ रनमै समेटिएको थियो। विश्व आदर्शका तर्फबाट पौल सिग्देलले १२ रन बनाएका थिए भने अन्य खेलाडीहरू दोहोरो अंकमा पुग्न नसकेको बताइएको छ।
नमुना कलेजका बलरहरू प्रभावशाली देखिएका थिए। प्रकाश कार्कीले ३ ओभर १ बलमा मात्र ३ रन खर्चेर ५ विकेट लिएका थिए। त्यसैगरी शुबित मेहताले ३ विकेट र गौरब कटुवालले १ विकेट लिएका थिए। उत्कृष्ट प्रदर्शन गरेका प्रकाश कार्की खेलका म्यान अफ द म्याच घोषित भएका छन्।
दोस्रो खेलमा जनता माविको जित
आजकै दोस्रो खेलमा जनता माध्यमिक विद्यालय इटहरी र रेड स्टार कलेज पथरीबीचको प्रतिस्पर्धामा जनता माविले ३ विकेटको जित हात पारेको छ।
रेड स्टार कलेजले टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाएर ८३ रन बनाएको जनाइएको छ।
८४ रनको लक्ष्य पछ्याएको जनता माविले १५ ओभर २ बलमा ७ विकेटको क्षतिमा ८४ रन बनाउँदै लक्ष्य पूरा गरेको बताइएको छ।
प्रतिक्रिया