काठमाडौँ : अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको दाबी गरेको छ ।
करिब २७ वर्षदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका यी दुई देशबिच अन्ततः सैन्य टकरावसम्मको अवस्था आइपुगेको छ । अमेरिकाले अर्को सार्वभौम मुलुकका राष्ट्रपतिलाई नै पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको दाबी गरेसँगै अन्तर्राष्ट्रिय राजनीति तरङ्गित भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ठुलो स्तरको सैन्य कारबाही गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको पुष्टि गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै अमेरिकी कानुन कार्यान्वयन निकायसँगको सहकार्यमा उक्त कारबाही सम्पन्न गरिएको बताएका छन् । यद्यपि, पक्राउ परेका मादुरो र उनकी पत्नीलाई कहाँ राखिएको छ भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
बीबीसीका अनुसार मादुरोको पक्राउ अमेरिकी सेनाको आतंकवादविरुद्धको शीर्ष इकाइ डेल्टा फोर्सले गरेको हो । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री मार्को रुबियोसँगको कुराकानी उद्धृत गर्दै मादुरोमाथि अमेरिकामा आपराधिक अभियोगमा मुद्दा चलाइने बताएका छन् । अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध औपचारिक मुद्दा चलाइने घोषणा गरेकी छन् ।
‘निकोलस मादुरोमाथि संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को–आतङ्कवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिनगन तथा खतरनाक हतियार राख्ने षड्यन्त्रलगायतका अभियोग छन् । उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा अमेरिकी न्यायको सामना गर्नेछन्,’ बोन्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।
स्थानीय समयअनुसार करिब राति साढे २ बजेपछि भेनेजुएलाको राजधानी कराकासमा तीन ठुला विस्फोटका आवाज सुनिएको र सहरमाथि धुवाँको मुस्लो देखिएको बताइएको छ । राजधानीको केन्द्रमा रहेको ला कार्लोटा सैन्य हवाई मैदान र भेनेजुएलाको प्रमुख सैन्य अड्डा फुएर्ते तिउना लक्षित आक्रमण भएका छन् ।
भेनेजुएला सरकारका अनुसार मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यहरू पनि प्रभावित भएका छन् । आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने सामाजिक सञ्जालमा विस्फोट र हेलिकोप्टर उडिरहेका भिडियोहरू व्यापक रूपमा फैलिएका छन् । मानवीय क्षतिबारे शनिवार रातिसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला कहाँ छन् भन्ने जानकारी सरकारसँग नरहेको बताउँदै उनीहरू जीवित रहेको प्रमाण सार्वजनिक गर्न माग गरेकी छन् । रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले नागरिक क्षेत्रमा आक्रमण भएको दाबी गर्दै मृतक र घाइतेबारे तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिएका छन् । उनले विदेशी सैनिकको उपस्थितिविरुद्ध कडा प्रतिरोध गरिने चेतावनी पनि दिएका छन् ।
भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रमण’ को संज्ञा दिएको छ । विज्ञप्तिमा उक्त आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतालाई गम्भीर खतरा पु¥याएको तथा भेनेजुएलाको तेल र खनिजजस्ता रणनीतिक स्रोत कब्जा गर्ने उद्देश्य रहेको आरोप लगाइएको छ ।
सरकारले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरिएको दाबी गर्दै काराकाससहित मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यका नागरिक तथा सैन्य संरचनामाथि आक्रमण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भेनेजुएलाको राजनीतिक स्वतन्त्रता कमजोर पार्ने उद्देश्यसहित उक्त सैन्य कारबाही गरिएको आरोप लगाइएको छ ।
सरकारले जनतालाई साइमोन बोलिभारलगायत राष्ट्रिय नायकहरूको विरासत सम्झँदै साम्राज्यवादी आक्रमणको प्रतिरोध गर्न आह्वान गरेको छ । बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको रक्षा गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको जनाइएको छ । साथै, संयुक्त राष्ट्र सुरक्षा परिषद् र महासचिवसमक्ष कूटनीतिक उजुरी दिने तयारी भइरहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा भेनेजुएलामाथिको आक्रमणलाई ‘ब्रिलियन्ट अपरेसन’ भनेका छन् । मादुरो सन् २०१३ देखि सत्तामा छन् । सन् २०२४ को निर्वाचनमा उनी विजयी घोषित भए पनि विपक्षीले परिणाम अस्वीकार गरेको थियो ।
ट्रम्प प्रशासनले भेनेजुएलाबाट हुने लागूऔषध तस्करी र आप्रवासनलाई कारण देखाउँदै दुई आपराधिक समूहलाई विदेशी आतङ्कवादी सङ्गठनको सूचीमा राखेको थियो । मादुरोको पक्राउका लागि अमेरिकाले ५० मिलियन अमेरिकी डलर पुरस्कारसमेत घोषणा गरेको थियो ।
भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपतिलाई पक्राउ गरिएको घटनाप्रति रुस र इरानसहित विभिन्न देशहरूले कडा शब्दमा निन्दा गरेका छन् । रुसले यसलाई ‘सशस्त्र आक्रमण’ भनेको छ । इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनीले प्रतिरोधको आह्वान गरेका छन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले यसलाई ल्याटिन अमेरिकाको सार्वभौमिकतामाथिको आक्रमण भनेका छन् । क्युबाले ‘आपराधिक हमला’ को संज्ञा दिएको छ । स्पेनले तनाव कम गर्न आग्रह गरेको छ भने जर्मनी र इटालीले अवस्था नजिकबाट नियालिरहेको बताएका छन् ।
अमेरिकाले यसअघि भेनेजुएलामाथि प्रत्यक्ष सैन्य आक्रमण नगरे पनि राजनीतिक हस्तक्षेप, आर्थिक नाकाबन्दी र सरकार परिवर्तनका प्रयासमार्फत दशकौँदेखि दबाब सिर्जना गर्दै आएको छ । भेनेजुएलाले यसलाई ‘आर्थिक तथा राजनीतिक आक्रमण’ भन्दै आएको छ ।
सन् १९९८ मा ह्युगो चाभेज राष्ट्रपति निर्वाचित भएपछि अमेरिका–भेनेजुएला सम्बन्ध बिग्रँदै गएको हो । समाजवादी नीति, तेल उद्योगको राष्ट्रियकरण र अमेरिका विरोधी धार तीव्र बन्दै गएपछि दुई देशबिच दूरी बढ्यो । सन् २००२ मा चाभेजविरुद्ध भएको असफल सैनिक कूमा अमेरिकाको अप्रत्यक्ष समर्थन रहेको आरोप भेनेजुएलाले लगाउँदै आएको छ, जसलाई अमेरिकाले अस्वीकार गर्दै आएको छ ।
चाभेजको मृत्युपछि सन् २०१३ मा निकोलस मादुरो सत्तामा आएपछि सम्बन्ध थप चिसिएको हो । सन् २०१५ देखि अमेरिकाले भेनेजुएलालाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा भन्दै आर्थिक प्रतिबन्ध लगाएको थियो । सन् २०१७ पछि नाकाबन्दी कडा बनेसँगै भेनेजुएलामा खाद्यान्न र औषधिको अभाव बढ्दै मुद्रास्फीति ऐतिहासिक स्तरमा पुगेको थियो ।
सन् २०१९ मा अमेरिकाले विपक्षी नेता जुआन ग्वाइदोलाई ‘अस्थायी राष्ट्रपति’को मान्यता दिएर मादुरो सरकार हटाउने प्रयास गरेको आरोप भेनेजुएलाले लगाउँदै आएको छ । सन् २०२० मा ‘अपरेसन गिडियन’ नामक सशस्त्र घुसपैठ प्रकरणपछि अमेरिकी–भेनेजुएला सम्बन्ध झन् बिग्रिएको हो । अमेरिकी प्रतिबन्ध र राजनीतिक दबाबका कारण लाखौँ भेनेजुएलाली नागरिक देश छोड्न बाध्य भएका छन् भने स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षामा गम्भीर सङ्कट उत्पन्न भएको छ ।
प्रतिक्रिया