काठमाडौं : बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बताएका छन् ।
मंगलबार कोइरालाले आफ्नै निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरुसंगको सामुहिक भेटका क्रममा सबैको मनोभावना सम्बोधन हुनेगरी केन्द्रीय समितिले बिशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसमा लागिपरेका समेत बताएका हुन् ।
काँग्रेस नेता कोइरालाले ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।
फरक प्रशंगमा कोइरालाले नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्न नहुने बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुइ चार सिट बढी आउँला तर समानुपातिका मत घट्ने र कांग्रेसलाई दिर्घकालिन हानी हुने बताउदै कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने कुरामा आफू स्पष्ट रहेको समेत बताउका थिए ।
भेटका क्रम केन्द्रीय सदस्य पुष्पा भुषालले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरुसँग भेट गरेको बताइन् । उनले आफूहरु कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएकाले समाधानका लागि सबैसँग पहल गरिरहेको जानकारी गराइन । काँग्रेस नेतृ भुषालले मध्यमार्गी बाटो पहिल्याउन डा.शेखर कोइरालालाई आग्रह समेत गरिन् ।
भेटमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरुले बिशेष महाधिवेशनलाई चुनावी घोषणा सभाको रुपमा रुपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । पार्टीको संस्थापन र बिशेष महाधिवेशन पक्षधरको हठले पार्टी चरम विवादमा फस्दै गएको बताएका थिए । उनीहरुले दुबै पक्षसँग समन्वय गरी मध्यमार्गी विकल्प पहिल्याउन डा.कोइरालालाई सामूहिक आग्रह समेत गरेका थिए । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया