काठमाडौं : नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी र जसपासँग तालमेल गर्ने निर्णय गरेको छ। मङ्गलवार बिहान बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै उपमहासचिव लेखराज भट्टले तीन दलबिच सहमति भइसकेको र एमालेले ७ सिट दाबी गरेको जानकारी दिए। उनले भने,'राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र जसपा नेपालसँग तालमेल गर्ने सहमति भइसकेको छ। चुनावी तालमेल गर्दा एमालेले ७ सिट दाबी गरेको छ ।'
हरेक प्रदेशमा एक जना पर्ने गरी ७ जनाको प्रतिनिधित्व हुनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । भट्टले राष्ट्रियसभामा मिलेर जाने भन्नेबारे सहमति भएपनि प्रतिनिधि सभाबारे अहिलेसम्म कुनै छलफल नभएको उल्लेख गरे।
यसैगरी एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको छ । बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा आम निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ भने उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
प्रतिक्रिया