कोशी प्रदेश सरकारमा व्यापक हेरफेर, मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

मंगलबार, २२ पुस २०८२

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नयाँ टिम बनाएका हुन।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ गराएका छन् । 

कार्कीले सत्ता साझेदार एमाले र काँग्रेस दुवै दलबाट चार–चार जना मन्त्री र एक–एक जना राज्यमन्त्री सरकारमा सहभागी गराएका छन । सत्ता साझेदार दलहरूबीचको भागबण्डा अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नयाँ मन्त्रिपरिषद्मा प्रदीपकुमार सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने तिलचन पाठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन् । इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन् । रामप्रसाद महतो सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा आएका छन् भने मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । इसाईल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

राज्यमन्त्रीतर्फ शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् भने उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका छन् । शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले सरकारको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको जानकारी गराए । 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई जनउत्तरदायी, नतिजामुखी र स्थिर बनाउने लक्ष्यका साथ नयाँ टिमलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै सत्तारुढ दलहरूबीचको सहकार्यलाई थप मजबुत बनाइने दाबी गरे । नयाँ मन्त्रिपरिषद् गठनसँगै कोशी प्रदेश सरकारको आगामी कार्यदिशा, नीतिगत प्राथमिकता र प्रशासनिक कार्यसम्पादनप्रति राजनीतिक तथा प्रशासनिक वृत्तमा चासो बढेको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार