तराई–मधेशमा सद्भाव खलबलिने घटनाप्रति गृह मन्त्रालय गम्भीर

७७ वटै जिल्लालाई १० बुँदे निर्देशनात्मक सर्कुलर

मंगलबार, २२ पुस २०८२
File Photo

काठमाडौँ : तराई–मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबलिने गरी भएका घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले यस्ता गतिविधि नियन्त्रण गर्दै जिल्लास्तरमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको हो ।

मङ्गलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी सर्कुलरमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलापमा संलग्न जो–कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।

सर्कुलरमा जिल्लामा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न गरिएका पहल, त्यसको प्रगति विवरण संकलन गरी मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव प्रवर्द्धनका लागि सरोकारवालासहित समन्वय बैठक आयोजना गर्न भनिएको छ ।

यसका लागि जिल्लास्थित राजनीतिक दलका प्रमुख, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवालाई सहभागी गराई सार्वजनिक रूपमा सद्भाव कायम गर्न आह्वान गर्न निर्देशन दिइएको छ । साथै, सबै पक्षको सहभागितामा सद्भाव र्‍याली आयोजना गरी यस्ता घटना दोहोरिन नदिन सचेतना फैलाउन पनि भनिएको छ ।

गृह मन्त्रालयले सीमा क्षेत्रमा हुने आवागमनमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउन, स्थानीय सञ्चारमाध्यममार्फत स्थानीय भाषामा सद्भाव अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश र स्थानीय तहबीच समन्वयात्मक कार्यक्रम अघि बढाउन जोड दिएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी सक्रिय बनाउने व्यवस्था गरिएको छ । समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ, पत्रकार महासङ्घ, बार एसोसिएसन, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रका अगुवा रहने उल्लेख छ ।

यस्तै, विगतमा भएका घटनाको अभिलेखका आधारमा विवाद हुन सक्ने सम्भावित कार्यक्रम वा पर्वहरूको सूची तयार गरी वार्षिक क्यालेन्डर निर्माण गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार