झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

विहीबार, २४ पुस २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबिच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचारिक तयारी सुरु गरेको हो ।

निर्वाचन तयारीका सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पाँचवटै निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय माघ २ गतेदेखि सञ्चालनमा ल्याइनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा रहनेछ ।

झापा निर्वाचन क्षेत्र नम्बर १ का लागि मेचीनगर नगरपालिका कार्यालय, क्षेत्र नम्बर २ का लागि अर्जुनधारा नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर ४ का लागि कन्काई नगरपालिकास्थित अतिथि सदन भवन र क्षेत्र नम्बर ५ का लागि दमकस्थित अर्ग्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।

निर्वाचन अधिकृतका कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर, विद्युत्, खानेपानी तथा इन्टरनेट सुविधाको व्यवस्थापनमा सम्बन्धित स्थानीय तहले सहकार्य गर्ने निर्णय गरिएको छ । साथै निर्वाचन अवधिभर निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारी, सञ्चारमाध्यम र सञ्चारकर्मीलगायत सबै सरोकारवालाले निर्वाचन आचारसंहिता–२०८२ को पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन कार्यालय झापाले राजनीतिक दल तथा सरोकारवालालाई निर्वाचन प्रक्रिया र कार्य तालिकाबारे जानकारी गराएको छ ।

प्रमुख जिल्ला अधिकारी गेलालको अध्यक्षतामा सम्पन्न सर्वपक्षीय बैठकमा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले उम्मेदवार मनोनयनदेखि मतदानसम्मको कार्य तालिका प्रस्तुत गरेका थिए । उनका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता तथा सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ७ र ८ गते उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम फिर्ता लिने तथा माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७४८ जना ‘निर्वाचन प्रहरी’ परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार नेपाल प्रहरीतर्फ चार हजार २५९ र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना परिचालन गरिनेछन् । भर्ना प्रक्रिया यसै सातादेखि सुरु गरिने उनले जानकारी दिए ।

झापामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसमेत परिचालन गरिनेछ । यसैगरी, समानुपातिकतर्फको मतदानका लागि जिल्ला कारागार झापा, कर्मचारी मिलन केन्द्र तथा दमकमा थप एक गरी तीनवटा अस्थायी मतदान केन्द्र स्थापना गरिने जानकारी दिइएको छ ।

झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेललाई दिइएको छ । उनले झापा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सम्हाल्नेछन् । त्यसैगरी झापा निर्वाचन क्षेत्र नम्बर १ का लागि गोसप विश्वकर्मा, क्षेत्र नम्बर २ का लागि महेशप्रसाद खत्री, क्षेत्र नम्बर ४ का लागि भीमप्रसाद भुर्तेल र क्षेत्र नम्बर ५ का लागि विदुरकुमार कार्कीजीलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृत तथा कार्यालय तोकिसकिएकाले माघ २ गतेदेखि औपचारिक रूपमा निर्वाचन कार्यालय सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार