अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा

शुक्रबार, २५ पुस २०८२

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न ३०६ बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगालगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द् चिल्ड्रेन’ सुर्खेतले नगरपालिकाका विभिन्न वडाका बालबालिकालाई सामग्री उपलब्ध गराएको हो ।

नगरपालिकाका १२ वडामध्ये आठ वडाका अति विपन्न परिवारका बालबालिकालाई छनोट गरी उनीहरू अध्ययनरत विद्यालयमै पुगेर सामग्री वितरण गरिएको हो । बालबालिकालाई जाडोबाट जोगिन ज्याकेट, स्विटर, ट्राउजर, थर्मस, झोला, टोपी, स्कार्फ, पञ्जा, मोजा, गलबन्दीलगायत सामग्री वितरण गरिएको हो । नगर उपप्रमुख कल्पना पन्तका अनुसार, वडा नं १ मा ४०, वडा नं २ मा २७, वडा नं ३ मा ४०, वडा नं ५ मा ११, वडा नं ६ मा ३०, वडा नं ७ मा ४०, वडा नं ११ मा ७४ र वडा नं १२ मा ४० बालबालिकालाई सामग्री वितरण गरिएको छ ।

सामग्री वितरण कार्यक्रममा नगर उपप्रमुख पन्तले बढ्दो शीतलहर र चिसोबाट बालबालिकालाई जोगाउन यो सहयोग महत्वपूर्ण भएको बताए। सिद्धभीम आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले चिसोका कारण विद्यार्थीले बीचमै विद्यालय छाड्ने गरेकामा यो सहयोगले यसलाई कम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार