समानुपातिकतर्फको बन्दसूचीबाट १७५ उम्मेदवारले लिए नाम फिर्ता

मंगलबार, २९ पुस २०८२

काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको थियो । सो अवधिमा एकल चुनाव चिह्नसहित १७ राजनीतिक दलका १७५ उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० जना उम्मेदवार रहेका छन् । अन्य दलसँग गठबन्धन गरेकाले लोसपाले बन्दसूचीमा पेस गरेका उम्मेदवार फिर्ता लिएको आयोगले जनाएको छ ।

यस्तै, जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेकपा (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४-४ जना उम्मेदवारले नाम फिर्ता लिएको आयोगले जनाएको छ । नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका २–२ जना उम्मेदवारले पनि बन्दसूचीबाट नाम हटाएका छन् ।

यसैगरी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबाट जाँतो एकल चुनाव चिह्नमा उम्मेदवार बनेका १-१ जनाले नाम फिर्ता लिएका छन् । गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पनि १-१ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

समानुपातिकतर्फको बन्दसूचीका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते निर्वाचन आयोगमा उम्मेदवारको नाम पेस गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार