काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का दुई प्रभावशाली नेताले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्।
निर्वाचन क्षेत्र परिवर्तन गर्नेमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र सचिव भानुभक्त ढकाल रहेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका व्यक्तिलाई मनोमानी रूपमा टिकट वितरण गरेको आरोप लागिरहेको सन्दर्भमा पार्टीभित्र र बाहिर यी दुई नेतालाई सुरक्षित निर्वाचन क्षेत्रमा सारिएको टिप्पणी हुन थालेको छ।
रूपन्देहीलाई असुरक्षित ठानेर उपाध्यक्ष पौडेल यसपटक पाल्पाबाट निर्वाचन लड्ने भएका छन्। यद्यपि, रूपन्देही क्षेत्र नं. २ बाट पौडेलको एकल नाम सिफारिस गरिएको थियो। शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई रूपन्देही छोडेर पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। पौडेलले यसअघि लगातार पाँचवटा निर्वाचनमा रूपन्देहीबाट उम्मेदवारी दिएका थिए।
तीमध्ये २०५६ सालको निर्वाचनमा तत्कालीन रूपन्देही क्षेत्र नं. ३ बाट ६ सय मत अन्तरले पराजित भएका उनी त्यसयता २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नं. २ बाट लगातार विजयी भएका थिए।
२०७९ को निर्वाचनमा भने पौडेलले गणेश पौडेललाई जम्मा १ हजार ६६ मतको अन्तरले पराजित गरेका थिए। अघिल्लो निर्वाचनको मत परिणाम र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका कारण रूपन्देही असुरक्षित ठानी उनले पाल्पा रोजेको हुनसक्ने विश्लेषण हुन थालेको छ।
उपाध्यक्ष पौडेलजस्तै एमाले सचिव भानुभक्त ढकालले पनि निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। २०७४ को निर्वाचनमा मोरङ–३ बाट उम्मेदवारी दिएका ढकाल मुस्किलले चुनाव जित्न सफल भएका थिए र केपी ओलीको नेतृत्वमा चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
तर एमालेका लागि पूर्वी नेपालकै सुरक्षित क्षेत्र मानिएको मोरङ–३ मा उनी २०७९ को निर्वाचनमा फराकिलो मतान्तरले पराजित भए।
उक्त निर्वाचनमा नेपाली कांग्रेसका सुनिल शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गर्दा ढकालले २५ हजार ८ सय ९५ मत मात्र ल्याएका थिए। शर्मासँग २२ हजार ७ सय ३६ मतको अन्तरले पराजित भएका ढकाल यसपटक मोरङ–३ छोडेर तेह्रथुमबाट उम्मेदवारी दिने तयारीमा रहेका छन्।
अघिल्लो निर्वाचनमा तेह्रथुममा एमालेका विजय सुव्वा नेपाली कांग्रेसकी सिता गुरुङसँग पराजित भएका थिए। पार्टीका शीर्ष नेताहरूले असुरक्षित ठानिएका क्षेत्र छोडेर नयाँ निर्वाचन क्षेत्र रोजेपछि एमालेभित्र आगामी निर्वाचनमा नेतृत्व तहकै जित सुनिश्चित गर्न रणनीतिक रूपमा क्षेत्र परिवर्तन गरिएको भन्ने चर्चा तीव्र बनेको छ।
प्रतिक्रिया