कोशी प्रदेशमा प्रतिनिधिसभा निर्वाचन: २८ क्षेत्रमा ५०८ उम्मेदवार मैदानमा

बुधबार, ०७ माघ २०८२

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा हालसम्म कुल ५०८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारको यो संख्याले यसपटकको निर्वाचनमा प्रतिस्पर्धा असाधारण रूपमा चर्किएको संकेत गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उम्मेदवारीको संख्या अन्तिम नामावली प्रकाशनपछि मात्रै यकिन हुनेछ । उम्मेदवारी फिर्ता, उजुरी दर्ता र छानबिनलगायतका प्रक्रिया बाँकी रहेकाले हालको संख्यामा केही थपघट हुन सक्ने कार्यालयले जनाएको छ ।

प्रदेशभरका अधिकांश निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र तथा साना दलका उम्मेदवारको उल्लेखनीय उपस्थिति देखिएको छ । यसले मतदातालाई बहुविकल्प उपलब्ध गराउने मात्रै नभई चुनावी बहस, राजनीतिक चासो र प्रतिस्पर्धालाई पनि व्यापक बनाएको छ ।

विशेषगरी सहरी क्षेत्र तथा राजनीतिक रूपमा संवेदनशील मानिने निर्वाचन क्षेत्रमा उम्मेदवारको संख्या अपेक्षाभन्दा धेरै रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । सबैभन्दा बढी उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा परेको छ, जहाँ ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसले सो क्षेत्रलाई प्रदेशकै सबैभन्दा प्रतिस्पर्धी निर्वाचन क्षेत्र बनाएको छ ।

सुनसरी जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गरी कुल १०९ जनाले उम्मेदवारी दिएका छन् । सुनसरी १ मा २६, क्षेत्र २ मा २८, क्षेत्र ३ मा २२ र क्षेत्र ४ मा ३४ जनाको उम्मेदवारी परेको छ । औद्योगिक, सहरी र ग्रामीण क्षेत्रको मिश्रण रहेको सुनसरीमा यसपटक राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

छ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कुल १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ १ मा १८, मोरङ २ मा १७, मोरङ ३ मा २१, मोरङ ४ मा २०, मोरङ ५ मा २२ र मोरङ ६ मा २० जनाले उम्मेदवारी दिएका छन् । प्रदेश राजधानी विराटनगर समेटिएको मोरङमा राजनीतिक गतिविधि सधैं चर्को रहने गरेको छ । यसपटक पनि उम्मेदवारी संख्याले मोरङलाई कोशी प्रदेशको राजनीतिक केन्द्रबिन्दुमा राखेको छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा कुल ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापा १ मा १५, क्षेत्र २ मा १८, क्षेत्र ३ मा १७, क्षेत्र ४ मा १६ र क्षेत्र ५ मा २४ जनाको उम्मेदवारी परेको छ । अन्य क्षेत्रको तुलनामा झापा ५ मा उम्मेदवारको संख्या बढी देखिएको छ, जसले त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने संकेत गरेको छ ।

झापा ५ बाट नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बालेन्द्र साह (बालेन)लगायतको उम्मेदवारी परेको छ । राजनीतिक रूपमा सक्रिय र संगठित मतदाता रहेको झापामा यसपटक दलहरूबीचको टक्करका साथै स्वतन्त्र उम्मेदवारले पनि प्रभाव पार्ने सम्भावना देखिएको छ ।

दुई–दुई निर्वाचन क्षेत्र रहेका उदयपुर र इलाम जिल्लामा पनि उल्लेखनीय संख्यामा उम्मेदवारी परेको छ । उदयपुरमा कुल ३१ जनाले उम्मेदवारी दिएका छन् । उदयपुर १ मा १८ र उदयपुर २ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । इलाममा कुल २७ जनाले उम्मेदवारी दिएका छन्, जहाँ इलाम १ मा १३ र इलाम २ मा १४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । इलाममा स्थानीय मुद्दा, विकासका सवाल र पहिचानका विषय चुनावी बहसको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

एक वा दुई निर्वाचन क्षेत्र मात्र रहेका पहाडी तथा हिमाली जिल्लाहरूमा पनि प्रतिस्पर्धा कमजोर देखिएको छैन । ताप्लेजुङमा १३, पाँचथरमा १५, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भौगोलिक रूपमा विकट मानिने यी जिल्लामा समेत उम्मेदवारको संख्या उल्लेखनीय हुनु राजनीतिक चासो र सहभागिता बढेको संकेतका रूपमा हेरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया हालसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । अब प्रारम्भिक उम्मेदवार सूची प्रकाशन, उजुरी दर्ता तथा छानबिन, अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा भएपछि औपचारिक चुनावी प्रचार–प्रसार तीव्र हुने अपेक्षा गरिएको छ । उम्मेदवारको संख्याले कोशी प्रदेशमा यसपटकको प्रतिनिधिसभा निर्वाचन दलगत प्रतिस्पर्धामा मात्र सीमित नरही बहुआयामिक र बहुपक्षीय बन्ने संकेत दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार