झापा : विघटित प्रतिनिधिसभाकी उपसभामुख तथा झापा क्षेत्र नम्बर २ की उम्मेद्वार इन्दिरा रानाले युवाहरूसंगै साइकल यात्रा गरेकी छन् । झापा गोल्ड कपको तयारी अभियान अन्तर्गत गरिएको साइकल यात्रामा आज युवाहरूसँगै उम्मेद्वार रानापनि साईकल यात्रामा सहभागी भएकी हुन् ।
बिर्ताबजारदेखि अर्जुनधारा नगरपालिकाको महानन्द चौकसम्म आयोजित साइकल यात्रामा युवाको सहभागिता रहेको थियो । खेलकुद, नेतृत्व विकास र सकारात्मक सामाजिक अभियानमा युवालाई जोड्ने उद्देश्यसहित गरिएको साईकल यात्रामा रानाले युवासँगै साइकल चलाउँदै सहभागिता जनाइन ।
कार्यक्रमका क्रममा रानाले झापा गोल्ड कप केवल खेलकुद प्रतियोगितामा सीमित नभएर युवाको ऊर्जा, अनुशासन र नेतृत्व क्षमतालाई उजागर गर्ने अभियान भएको उल्लेख गरिन् । उनले खेलकुदमार्फत युवालाई अनुशासित, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउनेतर्फ सबै पक्ष मिलेर लाग्नुपर्ने आवश्यकता समेत औँल्याइन् ।
साइकल यात्रामा सहभागी युवाहरूले खेलकुद, नेतृत्व र सामाजिक अभियानमा रानाको सक्रियताले आफूहरू प्रेरित भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले झापा गोल्ड कपको तयारीमा युवाको भूमिकालाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताएका थिए ।
आयोजकका अनुसार आगामी दिनमा पनि युवालाई लक्षित गर्दै विभिन्न सचेतनामूलक तथा खेलकुद केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
प्रतिक्रिया