बेलहिया । नेपालको प्रमुख स्थलमार्ग नाका बेलहिया हुँदै भित्रिने पर्यटकलाई अब राष्ट्रिय झण्डाले स्वागत गरिने भएको छ। बेलहिया गाउँ समाजले आइतबार नाकादेखि डण्डा खोला पुलसम्मका विद्युतीय पोलहरूमा करिब १०० वटा नेपाली झण्डा राखेर यो अभियानको सुरुवात गरेको हो। भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकले मुलुकभित्र खुट्टा टेक्ने बित्तिकै नेपाल आइपुगेको अनुभूति गराउन यस्तो कदम चालिएको हो।
'हाम्रो बेलहिया, राम्रो बेलहिया' भन्ने नाराका साथ समाजले नाका क्षेत्रको सौन्दर्यीकरणमा जोड दिएको छ। कार्यक्रम संयोजक अर्जुनकुमार गिरीका अनुसार पर्यटकलाई 'नेपाल आएका छौँ' भन्ने जानकारी दिन र राष्ट्रियताको झल्को दिन झण्डा राखिएको हो। यी झण्डाहरू नेपाल भन्सार एजेन्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको हो।
बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले 'सफा सुग्घर र हराभरा बेलहिया' बनाउने अभियान अन्तर्गत झण्डा गाड्ने काम भएको बताए। सरकारको मुख मात्र नताकी नागरिक र सङ्घ–संस्थाले पनि देशप्रति आफ्नो दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ। नाका क्षेत्रमा झण्डा राख्दा यसले सौन्दर्य बढाउनुका साथै पर्यटकमा सकारात्मक छाप पर्ने विश्वास गरिएको छ।
स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने यो नाकामा सौन्दर्यीकरणसँगै सरसफाइ र पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। नाकालाई व्यवस्थित र आकर्षक बनाउँदा नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने स्थानीयको अपेक्षा छ।
प्रतिक्रिया