जिम्मेवारी बीचमै छाडेर प्रधानमन्त्री बन्ने आकांक्षा राम्रो होइन : जनक बोहरा

सोमबार, १९ माघ २०८२

काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहराले केही जनप्रतिनिधिहरू स्थानीय तहको मूल जिम्मेवारीभन्दा बाहिरको चर्चामा बढी केन्द्रित भएको टिप्पणी गरेका छन् ।


उनका अनुसार जनताले पाँच वर्षका लागि दिएको अभिभारा पूरा गर्नुभन्दा बाहिर व्यक्तिगत लोकप्रियता र उच्च पदको आकांक्षामा सक्रिय हुनु जनअपेक्षासँग मेल नखाने प्रवृत्ति हो ।


उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको उदाहरण दिँदै सीमित बजेटसमेत प्रभावकारी रूपमा खर्च गर्न नसकेको अवस्थाबीच देशव्यापी भ्रमण र सार्वजनिक कार्यक्रमहरूमा ‘हिरो स्टाइल’को प्रस्तुति देखिनु प्राथमिकतामा प्रश्न उठाउने विषय भएको बताए । जनताले दिएको जिम्मेवारी बीचमै छोडेर प्रधानमन्त्री बन्ने आकांक्षामा केन्द्रित हुनु सही अभ्यास नहुने उनको भनाइ छ ।


नगर प्रमुख बोहराले बाजुराका नागरिकको जीवनशैली र संघर्ष उदाहरण दिँदै भने, ‘काठमाडौंमा घरमै सुविधा लिएर बसेका नागरिक र बाजुराका जनता एउटै अवस्थामा छैनन् । यहाँका नागरिक पुस्तौंदेखि भारी बोकेर, भारतका कुमाउ–गढवालसम्म पुगेर कठोर श्रम गर्दै आफ्ना बालबालिकालाई पढाइरहेका छन् । यो पीडा बुझ्नु जरुरी छ ।’


उनले बाजुराको विकास, त्याग, संघर्ष र इतिहास बोकेको दलबाट मात्रै सम्भव हुने स्पष्ट पार्दै नेकपा एमालेले मात्रै बाजुराको आवश्यकता र सम्भावनालाई गहिरो रूपमा बुझेको बताए । ‘स्वतन्त्र पार्टीको नाममा आएका शक्तिसँग न त दीर्घकालीन इतिहास छ, न त स्थायित्वको भरोसा,’ उनले भने ।


नगर प्रमुख बोहराले नेतृत्वको मूल्याङ्कन लोकप्रिय भाषण वा उपस्थितिभन्दा पनि काम, बजेट कार्यान्वयन र जनताको जीवनमा आएको परिवर्तनबाट हुनुपर्नेमा जोड दिए । स्थानीय सरकारको दायित्व पूरा गर्दै परिणाम देखाउन सक्ने नेतृत्व नै देशका लागि आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार