भोजपुरमा २२ सय अस्थायी मतदाता: सुरक्षाकर्मी र कैदीबन्दीले पनि भोट हाल्न पाउने

बुधबार, २१ माघ २०८२

काठमाडौँ : जिल्ला निर्वाचन कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य अस्थायी मतदाताको नामावली सार्वजनिक गरेको छ।

कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार यस पटक समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने गरी दुई हजार २०० जनाको सूची प्रकाशन गरिएको हो। 

यो सूचीमा मुख्यतया निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी र कारागारमा रहेका कैदीबन्दीहरू समेटिएका छन्। यस व्यवस्थाले आफ्नो कार्यक्षेत्रमा रहेका कारण मतदानबाट वञ्चित हुन सक्ने सरकारी जनशक्ति र कानुनी हिरासतमा रहेकाहरूलाई पनि मताधिकारको प्रयोग गर्ने अवसर दिनेछ।

निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाको सुरक्षा व्यवस्थालाई पनि निकै कडा बनाइएको छ। प्रमुख जिल्ला अधिकारी राजन पौडेलले मतदाताले कुनै पनि डर वा त्रास नमानी निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको बताए। 

उनले जिल्लाभर शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन सुरक्षा निकायहरूलाई 'हाइ अलर्ट' मा राखिएको जानकारी दिए। मतदान केन्द्रहरूको संवेदनशीलता हेरेर सुरक्षाकर्मी परिचालन गरिने र चुनावी सुरक्षामा कुनै सम्झौता नहुने उनको भनाइ छ।

यस पटक भोजपुरमा प्रतिनिधिसभाको एक सिटका लागि १२ वटा राजनीतिक दलका १२ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उम्मेदवारहरू अहिले आफ्नो एजेन्डा र प्रतिबद्धतासहित गाउँ-गाउँमा पुगेर मतदाता फकाउन व्यस्त छन्।

अस्थायी मतदाताको सूची सार्वजनिक भएसँगै निर्वाचन कार्यालयले मतदानका लागि आवश्यक सामग्री र जनशक्ति व्यवस्थापनको कामलाई पनि तीव्रता दिएको छ। सङ्गठित र व्यवस्थित निर्वाचनका लागि भोजपुरमा चुनावी चहलपहल ह्वात्तै बढेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार