तेस्रो चरणको जिल्ला दौडाहामा बालेन : मोरङ–सुनसरी हुँदै उदयपुरसम्म कार्यकर्ता भेटघाट (यस्तो छ तालिका)

बुधबार, २१ माघ २०८२

इटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज तेस्रो चरणको जिल्ला दौडाहामा निस्कँदै छन्। मोरङको उर्लाबारीबाट सुरु हुने उनको आजको यात्रा सुनसरी हुँदै उदयपुरसम्म तय गरिएको छ।

यसअघि पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटाको दौडाहा पूरा गरी काठमाडौँ फर्किएका बालेन त्यसपछि सुदूरपश्चिम प्रदेशको यात्रामा निस्किएका थिए।

काठमाडौँबाट सोमबार झापा फर्किएका उनले मङ्गलवार दिनभर आफ्ना क्षेत्रका मतदातासँग भेटघाट तथा छलफल गरेका थिए।

बुधवार बिहान उर्लाबारीबाट प्रस्थान गर्ने बालेन पथरी, लेटाङ हुँदै डायनिया पुग्ने कार्यतालिका छ। त्यसपछि उनी मोरङकै विराटनगरको बरगाछी क्षेत्रमा कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्नेछन्।

विराटनगरपछि दुहबी हुँदै इटहरी पुग्ने बालेनले त्यहाँ करिब डेढ घण्टा कार्यकर्ता र उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम राखेका छन्। छलफलपछि मध्याह्न १२ बजे इटहरीबाट इनरुवा र साढे १२ बजेपछि बराहक्षेत्रतर्फ प्रस्थान गर्ने तालिका छ।

बराहक्षेत्रको कार्यक्रमपछि अन्तिम गन्तव्यका रूपमा उदयपुर तय गरिएको बालेनको सचिवालयले जनाएको छ। उनी बुधवार दिउँसो ४ बजेसम्म उदयपुर पुग्नेछन्।

यस क्रममा बालेनले कार्यकर्ता भेटघाट, सम्भावित उम्मेदवारसँग छलफल तथा मतदातासँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। पार्टी सङ्गठन सुदृढीकरण र स्थानीय मतदाताको भावना बुझ्ने उद्देश्यसहित उनको जिल्ला दौडाहा जारी रहेको सचिवालयको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार