काठमाडौँ : आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।
आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा मानव अधिकारको अवस्थाको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको उल्लेख गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आयोगले आज निर्वाचनमा पर्यवेक्षण गर्ने विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अनुगमन÷पर्यवेक्षणको प्रभावकारिताको सम्बन्धमा गरेको छलफलमा सहभागीहरुले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
आयोगको अनुगमनबाट राजनीतिक दलका केही नेताहरू र उम्मेदवारहरुले एक अर्को दल, नेता र उम्मेदवारप्रति अमर्यादित भाषा प्रयोग गरी घृणाजन्य अभिव्यक्ति दिएको, अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको, मतदाताहरूलाई कुन दल÷नेतालाई भोट दिने ? भनी प्रश्न सोध्ने र त्यसलाई भिडियो÷अडियो रेकर्ड गराई सामाजिक सञ्जालमा राखी मतदाताको गोप्य मतदानको अधिकार र गोपनियताको हक उल्लङ्घन गरको पाइएको छ ।
आयोगमा मानव अधिकार अनुगमनबाट निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता केही दल र उम्मेदवारहरुबाट उल्लङ्घन भएको भनी प्रश्न उठेको, निर्वाचनपूर्व नै अमूक उम्मेदवारले जित्छ भनी समाचार तयार गरी भ्रम सिर्जना गरेको र मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाएको छ ।
केही राजनीतिक दलका कार्यालयहरूमा तोडफोड भएको, यसअघि आयोगले राजनीतिक दलका प्रतिनिधिहरु र सञ्चाकर्मीहरुसँग छुट्टाछुट्टै गरेको छलफलमा उल्लिखित विषयहरुलाई उठाइएको अनुगमनबाट पाइएको छ ।
प्रतिक्रिया