मधेश केन्द्रित गगन–बालेन, झापा–५ मा ओलीमाथि घेराबन्दी

बुधबार, २८ माघ २०८२

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार दिनभर कोशी प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त रहे।

प्रदेश राजधानी विराटनगरको सभामा सहभागी भएका उनले सुनसरी, सप्तरीको हनुमाननगर, कंकालिनी/कञ्चनपुर, रूपनी, कदमचोक, सिराहाको लहान, जिरो माइल, गोलबजार हुँदै महोत्तरीका विभिन्न स्थानमा नेता तथा कार्यकर्तासँग संवाद गरे। अर्थात् गगन थापा मधेशको मत तान्ने रफ्तारमा मतदाता भेटिरहेका छन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाको यही रफ्तार अन्यत्र पनि पुग्नेछ। बुधवार दाङ जिल्लास्तरीय बृहत् भेला, बिहीबार रुपन्देही जिल्लास्तरीय बृहत् भेला र शुक्रवार सबै उम्मेदवारसहितको पाल्पा जिल्लास्तरीय बृहत् भेला तय भएको छ।

गगन थापा जुन रफ्तारमा मधेश केन्द्रित भएर मतदाता भेटिरहेका छन्, त्यस्तै रफ्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेशको दुई फन्को लगाइसकेका छन्। यी दुवै सङ्घीय राजधानी काठमाडौँबाट राजनीतिमा स्थापित भएका नेता हुन्।

चारपटकसम्म काठमाडौँबाट सङ्घीय सांसद बनेका थापा पार्टी सभापति भएसँगै मधेशको मत तान्न तराई–मधेश झरेका छन्। २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर जितेसँगै राजनीतिमा उदाएका बालेन मधेशको मत तानेर प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन्। उता थापालाई पनि काँग्रेसले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।

भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएका थापा र बालेन मधेशको मत तानेर राजनीतिमा थप स्थापित हुने योजनामा देखिन्छन्। यसकारण दुवै मधेश केन्द्रित भएर चुनावी गतिविधिमा सक्रिय छन्।

मधेश प्रदेशमा मात्रै ३२ वटा निर्वाचन क्षेत्र छन्। यस प्रदेशमा मतदाताको सङ्ख्या ३६ लाख ३६ हजार ४१४ रहेको छ। निर्वाचन क्षेत्र र मतदाता दुवै धेरै भएकाले मधेश प्रदेश दलहरूको प्रमुख चासोको केन्द्र बन्दै आएको छ।

झापाबाट निस्किएनन् ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दिनभरजसो झापा–५ मै मतदाता भेट्न व्यस्त छन्। नयाँ पुस्तालाई आफूतर्फ आकर्षित गर्न उनले युवालाई प्राथमिकताका साथ भेटिरहेका छन्। गौरादह, दमक, गौरीगन्ज र कमल गाउँपालिकाका गाउँबस्ती पुगेर स्थानीयका गुनासा सुन्दै आएका छन्।

आफ्नो पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएका अर्का पात्र ओली आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा छन्। यसपटक बालेन पनि ओलीसँगै प्रतिस्पर्धामा छन्, जसका कारण झापा निर्वाचन क्षेत्र नम्बर ५ आमचासोको क्षेत्र बनेको छ।

२०४८ यताका एकबाहेक सबै चुनाव जितेका ओली यसपटक पनि उम्मेदवार हुन्। युवा मतदाता बालेनप्रति आकर्षित रहेको आशङ्कामा ओली निर्वाचन क्षेत्रमै रहेर युवा र बालबालिका केन्द्रित भेटघाटमा छन्।

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र युवासँग टेलिफोनमार्फत सुझाव लिने देखि स्थानीयस्तरसम्म युवा केन्द्रित भेटघाटमा रहेका ओली अन्यत्र चुनावी प्रचारमा निस्किएका छैनन्। तथापि वृद्धवृद्धासँग पनि भेटेर संवाद गरिरहेको विवरण सार्वजनिक भइरहेको छ।

एमाले नेताहरूका अनुसार वडा र गाउँस्तरका संरचनालाई परिचालन गरिएको छ। देशभर स्थानीयस्तरको पार्टी कमिटी र भ्रातृ सङ्गठनलाई सक्रिय बनाइएको छ। शीर्ष नेताहरू देश दौडाहामा जाने विषयमा औपचारिक निर्णय भने भएको छैन।

एकसरो मतदातासँगको भेटघाट सकाएर ओली काठमाडौँ आएका थिए र फेरि झापामै फर्किएका छन्। काठमाडौँ बसाइँका क्रममा उनले अन्तरपार्टी संवाद तथा शीर्ष नेताहरूसँग छलफल गरेका थिए। आफू घेराबन्दीमा रहेको अनुभूति व्यक्त गरेपछि एमालेका अन्य शीर्ष नेताहरूले झापा केन्द्रित हुन सुझाव दिएका थिए। त्यसपछि ओली फेरि झापा फर्किएका हुन्।

अघिल्ला चुनावमा आफ्नो निर्वाचन क्षेत्रमा कमै देखिएर सजिलै जित्दै आएका पूर्वप्रधानमन्त्री ओली यसपटक भने झापा–५ मै केन्द्रित छन्। नेताहरूका अनुसार सम्भवतः उनी देश दौडाहामा ननिस्कनेछन्।

२३ भदौको जेन–जी आन्दोलनका क्रममा प्रहरी दमनमा एकै दिन १९ युवा मारिएपछि ओली आलोचनाको केन्द्रमा छन्। त्यसैले अघिल्ला चुनावजस्तो भाषणले मात्रै जनमत बढ्नेमा एमाले उम्मेदवारहरू विश्वस्त छैनन्।

रास्वपा नेता बालेन्द्र शाहको उम्मेदवारीले दबाबमा परेका ओली दिनभर मतदाता भेट्न व्यस्त छन्। भूमिहीन सुकुम्वासी, किसान र बेरोजगार युवाले उनलाई विभिन्न प्रश्न गरेका छन्। पटक–पटक प्रधानमन्त्री हुँदा पनि सुकुम्वासी समस्या समाधान गर्न नसकेको भन्दै प्रश्न उठाइएको छ। ओलीले सरकार अस्थिर हुँदा समस्या समाधान गर्न नसकिएको बताएका छन्।

‘आयोग बनायो, पुर्जा बाँड्ने बेला सरकार ढल्यो,’ उनले भने, ‘यसपटक पनि आयोग विघटन गरियो। अदालतबाट पुनर्स्थापित आयोगले काम गर्दैछ।’ नेपाल–चीन मैत्री औद्योगिक पार्क क्षेत्रमा मुआब्जामा भेदभाव भएको विषयमा पनि स्थानीयले गुनासो गरेका छन्।

ओली २०४८ यता झापाबाट आठौँपटक चुनाव लड्दै छन्। २०६४ मा तत्कालीन माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएबाहेक उनी निरन्तर विजयी हुँदै आएका छन्। २०७४ र २०७९ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग तालमेल भए पनि यसपटक एमाले र राप्रपाबिच कुनै तालमेल छैन।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार