इटहरी–२ मा कांग्रेसको चुनावी तयारी तीव्र : परिचालन समितिले यस्तो बनायो रणनीति

बुधबार, २८ माघ २०८२

इटहरी : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस इटहरी–२ नम्बर वडा समितिले सुनसरी क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार राजीव कोइरालालाई विजयी गराउने उद्देश्यसहित चुनावी तयारी तीव्र बनाएको छ।

वडा समितिले राजु बस्नेतको संयोजकत्वमा ९ सदस्यीय वडा निर्वाचन परिचालन समिति गठन गरेको हो।

समितिको सह–संयोजकमा भोला पाण्डे, जनक कार्की, अम्बिका थापा तिम्सिना, मणिन्द्र तिम्सिना, चेवन खतिवडा र खिरबहादुर लिम्बू रहेका छन्। सचिवमा सानुराम गौतम र रोशन भुजेल चयन भएका छन्।

नवनिर्मित समितिले वडा स्तरमा प्रचार–प्रसार, महिला तथा युवा परिचालन समिति गठन, चुनावी कार्यक्रमको तयारी तथा उम्मेदवारलाई वडामा ल्याएर घरदैलो अभियान सञ्चालन गर्ने योजना अघि सारेको संयोजक बस्नेतले बताए।

उनका अनुसार यसपटक यस क्षेत्रबाट बढीभन्दा बढी मत ल्याएर आफ्ना उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी आएको छ।

उम्मेदवार कोइराला सरल र विकासप्रेमी रहेको, दुई पटक जिल्ला सभापति, प्रदेश सांसद हुँदै कांग्रेस केन्द्रीय समितिसम्मको अनुभव भएकाले मतदातामाझ जान सहज हुने उनले बताए।

इटहरी–२ मा ११ हजार ७८० मतदाता रहेका छन्, जुन इटहरीका २० वडामध्ये दोस्रो ठूलो मतदाता संख्या भएको वडा हो। त्यसैले पनि कांग्रेसले यस वडालाई जितको निर्णायक आधार मान्दै विशेष रणनीति बनाएको जनाएको छ।

वडा नम्बर २ का स्थानीयले वर्षौंदेखि भोग्दै आएको जंगली हात्तीको समस्या पनि चुनावी एजेन्डाका रूपमा उठाउने तयारी गरिएको छ। स्थानीय समस्या समाधानको प्रतिबद्धतासहित मतदातासँग नजिकिने अभियानलाई कांग्रेसले तीव्र बनाएको जनाएको छ।

सुनसरी–२ मा २०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य विजयी भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार