चुनावका धार्मिक फण्डा : धर्म निरपेक्ष दस्तावेज, भोट माग्न ढोगभेटको चटक

सोमबार, २६ माघ २०८२

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई व्यक्तिगत रूपमा भेटघाट गर्ने अभियानसँगै धार्मिक स्थलको भ्रमण र धार्मिक गतिविधि पनि तीव्र बनाएका छन्।

२०६२–०६३ को जनआन्दोलनपछि स्थापित धर्मनिरपेक्ष व्यवस्थाप्रति आलोचना र असन्तुष्टिलाई एजेन्डा बनाउने राजनीतिक धारहरूले धर्मलाई ‘भोट बैंक’ का रूपमा प्रयोग गरेको भन्दै बहस र विवाद चर्किएको छ।

धर्मनिरपेक्षता र संघीयतालाई उपलब्धि भन्दै त्यसको संरक्षणको पक्षमा मत मागिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापामा सप्ताह महापुराणमा सहभागी हुँदै भजनसँगै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। पण्डितसँगै बसेर प्रवचन सुनेको र भजनमा नाचेको दृश्य व्यापक चर्चा र टिप्पणीको विषय बनेको छ।

यता, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पाथीभरा तथा रामजानकी मन्दिर दर्शन, सभापति रवि लामिछानेको चितवनस्थित घरमा गरिएको स्वस्तिशान्ति तथा अन्य नेताहरूका धार्मिक गतिविधिका तस्बिर पनि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्।

संविधानमा धर्मनिरपेक्षताको प्रतिबद्धता जनाएका दलका नेताहरूका यी गतिविधि घोषणापत्रमै हिन्दु राष्ट्र लेखेको राप्रपाको गतिविधिभन्दा कम नदेखिएको टिप्पणी भइरहेको छ।

धार्मिक अगुवा तथा राजनीतिक विश्लेषकका अनुसार नेपालमा हिन्दु धर्मावलम्बीको संख्या धेरै भएकाले चुनावको समयमा नेताहरूले धार्मिक गतिविधि बढाएर मत तान्ने प्रयास गर्ने गरेका छन्। घोषणापत्रमा धर्मका विषयमा स्पष्ट धारणा नदेखिए पनि चुनावी समयमा भने विभिन्न समुदायको समर्थन लिन धार्मिक प्रतीक र गतिविधि प्रयोग हुने गरेको विश्लेषण गरिएको छ।

वाचन प्रवीण पं. दीनबन्धु पोखरेलले राजनीतिक दलले आफ्नो धार्मिक धारणा स्पष्ट रूपमा प्रस्तुत गर्नु सकारात्मक भए पनि चुनावी समयमा हुने मन्दिर दर्शन र ढोगभेटलाई “चुनावी फण्डा” मात्र भएको टिप्पणी गरे। उनले भने, “यदि धार्मिक आस्था वास्तविक हो भने विगतदेखि नै देखिनुपर्छ, नत्र जनमत संग्रहका लागि तयार हुनु उपयुक्त हुन्छ।”

मन्दिरमा बालेन, चर्चमा पत्नी सविना

रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाहले श्रीपञ्चमीका दिन पाथीभरा पुगेर पूजा गरेका थिए। त्यसअघि उनले जनकपुरस्थित रामजानकी मन्दिरमा पनि दर्शन गरेका थिए।

उनकी पत्नी सविना काफ्ले भने झापाको क्रिश्चियन समुदाय रहेको क्षेत्रमा पुगेर चर्चमा आशीर्वाद मागेको तस्बिर सार्वजनिक भएको छ। यसलाई दुवै धार्मिक समुदायको भावना आकर्षित गर्ने चुनावी रणनीति भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

रास्वपा सभापति रवि लामिछानेले चितवनमा गृह प्रवेशको अवसरमा पूजा गरेको र अन्य नेताहरूले गरेका धार्मिक गतिविधिलाई हिन्दु मत आकर्षित गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि दीनबन्धु पोखरेलले यस्तो गतिविधिले मतदातालाई धेरै प्रभावित नगर्ने बताएका छन्। उनका अनुसार “नेताहरूका यस्ता गतिविधि चुनावी चटक मात्र हुन् भन्ने कुरा जनताले बुझिसकेका छन्।”

राप्रपा हिन्दु राष्ट्रको पक्षमा, अन्य दल निरपेक्ष

प्रतिनिधिसभा निर्वाचनमा धर्मको विषयमा स्पष्ट एजेन्डा अघि सारेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देखिएको छ। पार्टीले नेपाललाई “सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र” बनाउने लक्ष्य राखेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई “सनातन सभ्यता र उन्नत लोकतन्त्र” को पक्षमा रहेको बताएको छ। उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सनातन सभ्यताको रक्षक भएको स्पष्ट पारेका छन्। रास्वपा नेतृ क्रान्तिशिखा धितालले भने पार्टीले नयाँ धार्मिक धारणा अघि सारेको नभई दस्तावेजअनुसार अघि बढेको बताइन्।

नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य कम्युनिस्ट दलहरूले भने धर्मनिरपेक्षताको पक्षमै आफूहरू दृढ रहेको जनाएका छन्। २०६२–०६३ को जनआन्दोलनबाट प्राप्त धर्मनिरपेक्षता जोगाउने एजेन्डालाई यी दलहरूले प्राथमिकतामा राखेका छन्।

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार