काठमाडौं : झापा ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) आइतबार चुनावी प्रचारका क्रममा दमक वडा नम्बर ५ स्थित नेकपा एमालेको कार्यालयमा पुगे ।
एमालेले केपी शर्मा ओलीको चुनावी प्रचारका लागि स्थापना गरेको कार्यालयमा पुगेका बालेनले कार्यालयमा रहेकाहरूसँग हात मिलाए र एकछिन गफिए ।
उक्त दृश्य जति सौहार्द थियो त्यति नै झापा ५ मा चुनावी प्रतिस्पर्धा छ । २०४८ सालयताका एउटाबाहेक सबै चुनाव जित्दै आएका ओली यसपटक पनि उम्मेदवार छन् ।
ओलीलाई हराउन भनेर बालेन पनि झापामै चुनाव लड्न पुगेका छन् । तीनपटक प्रधानमन्त्री भएर मुलुक हाँकिसकेका अनुभवी ओली पार्टीबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका छन् ।
पहिलोपटक संसदीय चुनाव लड्दै गरेका बालेनलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीकै रूपमा प्रस्तुत गरेको छ । दुई भावी प्रधानमन्त्रीको प्रतिस्पर्धा भएकाले पनि झापा ५ देशभर चर्चित छ ।
झापा ५ मात्रै होइन, समग्र कोशी प्रदेशमै नयाँ दल र पुराना दलको भाष्य स्थापित गर्ने कोसिस एकातिर छ । अर्कोतिर नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीलगायतका दल नयाँ दलसँग वैचारिक स्पष्टता नरहेको र चुनावी एजेन्डामा प्रस्टता नरहेको भनेर प्रश्न गरिरहेका छन् ।
देशभर तरंग
एमाले अध्यक्ष ओली र रास्वपाका नेता बालेनले कोशीबाटै देशभर तरंग पैदा गर्दै छन् । विगतमा पनि यी दुई नेता आमुनेसामने हुँदै आएका थिए । चुनावमा प्रतिस्पर्धी भएपछि अझ उनीहरूका गतिविधिले देशभर अर्थ राख्दै आएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको प्रतिनिधि बनेर बालेन झापा झर्दा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई सहज छैन ।
झापा–५ मात्र नभई विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको कोशी प्रदेशमै यसपटक फरक दृश्य देखिएको छ ।
जेनजी आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा नयाँ राजनीतिक दल तथा समूह सक्रिय छन् । परम्परागत राजनीतिक दलप्रतिको वितृष्णा र अविश्वासका कारण नयाँ भनिएका दलहरूप्रति जनदबाब बढ्दो छ ।
कोशी प्रदेशका धेरै जसो जिल्लामा अझै पुरानैको वर्चस्व रहे पनि नयाँहरूप्रतिको आकर्षणले प्रतिस्पर्धामा फरक परिणाम निकाल्न सक्ने आशा गरेका छन् । यो प्रदेशबाट रास्वपाले गत निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जितेन ।
पहाडी जिल्लामा रास्वपाको मत निकै कम मत आए पनि इलाम, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रबाट समानुपातिकमा प्रतिस्पर्धी बनेर आएको थियो । यसपटकको निर्वाचनमा रास्वपाले सोही मत जोगाएर नयाँ मतदाता थप्ने प्रयासमा छ । पछिल्लो समय बढ्दै गएको नयाँप्रतिको ह्विम र पुराना भनिएका दलप्रतिको वितृष्णाका कारण स्विङ मत बटुलेर रास्वपाले बाजी मार्ने रणनीतिमा छ ।
माघ ५ गते काठमाडौं महानगरपालिकाबाट राजीनामा दिएर झापा झरेका बालेनले ६ गते मनोनयन दर्ता गरेर निर्वाचन क्षेत्रमा एक फन्को लगाए ।
एमाले अध्यक्ष ओली पनि एक हप्ता झापा बसेर चुनावी अवस्था विश्लेषण गर्दै नयाँ रणनीतिका साथ अहिले मतदाता केन्द्रित अभियानमा छन् । ओली २०४८ सालयता सोही क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् ।
लोकप्रियताको बाढी लिएर आएका बालेन यसबीचमा झापा हुँदै कोशी प्रदेशका धेरैजसो जिल्लामा टेकेर फर्केका छन् । उनले ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसीदेखि कोशीको खुवालुङसमेत दर्शन गरे । त्यस्तै, धर्मगुुरुहरू समेत भेटेर आर्शिवाद लिइसकेका छन् ।
रास्वपाको क्रेज सबैजसो जिल्लामा देखिँदा बालेनको दौडधुपले रास्वपालाई थप राहत पुगेको नेताहरूले बताएका छन् । त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि पुराना दलकै मत काट्ने पक्का छ । सो दलले १४ वटै जिल्लामा जातीय मतको केही अंश आफ्नो पक्षमा पार्ने विश्लेषण छ ।
यो प्रदेश मुख्यतयाः नेकपा एमालेका लागि राष्ट्रिय राजनीतिमा भरथेग गर्ने बलियो क्षेत्र हो । तर यसपटक एमाले र कांग्रेसका लागि कोशी प्रदेशमा क्षति हुने देखिन्छ । खासगरी परिवर्तनका नाममा पछिल्लोपटक आएको बाढी र जातीय राजनीतिक तरंगले एमाले कांग्रेसको प्रतिस्पर्धामा ब्रेक लाग्ने देखिन्छ ।
गत जेनजी आन्दोलनका बेला सरकारको नेतृत्व गरेको नेकपा एमालेले सो आन्दोलनलाई अस्वीकार गर्दा देशभरको मत खस्किएको छ । त्यसको प्रभाव कोशी प्रदेशमा समेत परेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको साझेदार दल नेपाली कांग्रेसले जेनजी आन्दोलनको भावनालाई स्वीकार गर्दै विशेष महाधिवेशनमार्फत् नीति र नेतृत्व परिवर्तन गरेर चुनावमा गएका कारण उसलाई केही राहत मिले पनि अघिल्लो निर्वाचनजस्तो सहज छैन ।
अहिले सबैजसो क्षेत्रमा कांग्रेस–एमाले रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाबीच तीव्र प्रतिस्पर्धामा छ । रास्वपा ओखलढुंगाका उम्मेदवार विश्वराज पोखरेलले पछिल्लोपटक मतदातामा परिवर्तनको लहर देखिएको दाबी गर्छन् ।
यद्यपि, उनको दाबीप्रति ओखलढुंगाका प्रतिस्पर्धी उम्मेदवार र दलहरूले हल्का लिएका छन् । कांग्रेस–एमाले र नेकपाका स्थानीय नेताहरूले रास्वपालाई चौथो हुने आँकलन गरेका छन् ।
‘रास्वपाका उम्मेदवार जिल्लामा परिचित व्यक्ति पनि होइनन् र रास्वपा संगठनका हिसाबले ओखलढुंगामा प्रतिस्पर्धी दल होइन,’ खिजीदेम्बा गाउँपालिकाका पूर्वअध्यक्ष वेदबहादुर रोकाले भने ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशबाट नेकपा एमाले पहिलो दल बनेको थियो भने नेपाली कांग्रेस दोस्रो स्थानमा थियो । एमाले १३ सिट प्रत्यक्ष निर्वाचित हुँदा कांग्रेसले ९ सिट पाएको हो ।
कांग्रेससँगको चुनावी गठनबन्धनमा रहेको नेकपा माओवादीका तीन जना उम्मेदवारले जितेका थिए । भोजपुरमा त कांग्रेसकै निर्वाचन चिह्नबाट माओवादीका उम्मेदवार सुदन किरातीले चुनाव जितेका हुन् ।
प्रदेशका १४ जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमध्ये ताप्लेजुङ, पाँचथर, इलाम १ र २, झापा २, ४ र ५, उदयपुर २, मोरङ २, सुनसरी २ र ३, धनकुटा र सोलु गरी १३ क्षेत्रबाट एमालेका उम्मेदवार निर्वाचित भएका थिए । त्यस्तै, उदयपुर १, ओखलढुंगा, झापा १, संखुवासभा, तेह्रथुम, मोरङ १, ३ र ६, सुनसरी ४ बाट कांग्रेसले जितेको थियो । त्यस्तै, भोजपुर खोटाङ र मोरङ ५ बाट कांग्रेससँगको गठबन्धनमा रहेको नेकपा माओवादीका उम्मेदवारले जितेका थिए ।
झापा ३ मा राप्रपाले जित्दा सुनसरी १ मा जसपा र मोरङ ५ बाट स्वतन्त्र उम्मेदवारले जित निकालेका थिए । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीले कोशीबाट एक सिट पनि जितेन । तर समानुपातिकमा भने प्रतिस्पर्धात्मक मत आएको थियो ।
ओली–बालेनको प्रतिस्पर्धाका कारण कोशी प्रदेशमा सबैभन्दा बढी झापा–५ चर्चामा छ भने झापा २ मा गत संसदका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाबीचको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ । त्यस्तै, एमालेको सहयोगमा सधंै राप्रपाले जित्ने झापा ३ लाई समेत यसपटक महत्वका साथ हेरिएको छ ।
यो क्षेत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दै छन् । लिङ्देनलाई २०७४ र २०७९ सालमा एमालेले सघाएको थियो । यसपटक पनि लिङ्देन र ओलीबीच आन्तरिक एकता हुने सम्भावना बलियो छ ।
झापा–५ बाट आफ्नो जित सुरक्षित गर्न ओलीले लिङ्देनको सहयोग लिएर झापा ३ मा लिङदेनलाई सघाउनेगरी आन्तरिक छलफल भइरहेको बताइएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइराला उम्मेदवार भएकाले मोरङ–६ लाई पनि महत्वका साथ हेरिएको छ । अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा कांग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ ।
समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७ सय १० मत ल्याउँदा एमालेले १९ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो । तेस्रो स्थानमा रहेको रास्वपाले ११ हजार ५ सय २६ र चौथो स्थानको राप्रपाले १० हजार ६ सय ४१ मत ल्याएका थिए । तत्कालीन माओवादी पाँचौं स्थानमा सीमित थियो ।
कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले ३५ हजार २ सय २४ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार लालबाबु पण्डितले २२ हजार ९ सय ४६ मत ल्याउँदा रास्वपाका यादवकुमार प्रधानले ९ हजार १ सय ४० मत पाएका थिए ।
यसपटक कांग्रेसका शेखर कोइराला, एमालेका विनोद ढकाल र रास्वपाका रुविना आचार्यबीच प्रतिस्पर्धा रोचक हुने स्थानीय नेता कार्यकर्ताहरूले बताएका छन् ।
किनकि यसपटक कुनै दलबीच औपचारिक चुनावी गठबन्धन छैन । एक्लैएक्लै प्रतिस्पर्धा गरेका पुराना दलको आन्तरिक कलहभित्र खेलेर रास्वपालगायत नयाँ दल र समूहले फाइदा लिने योजनामा छन् ।
गत प्रदेश सभा निर्वाचनमा रास्वपाले भाग लिएको थिएन । त्यसबेला कोशी प्रदेश सभामा प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट एमालेले ल्याएको थियो ।
त्यस्तै, नेपाली कांग्रेस प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ सिट गरी २९ सिटसहित दोस्रो दल बन्यो । नेकपा माओवादी केन्द्र १३, राप्रपा ६, नेकपा एस ४, जसपा १ सहित ६ वटा दल प्रदेश १ को प्रादेशिक पार्टी भएका थिए ।
यो तथ्यांकले नयाँलाई आगामी निर्वाचन सजिलो छैन । तर स्वस्फुर्त मत बदल्ने ह्विमले कोशीमा रास्वपा र श्रम संस्कृति पार्टीसमेत आशावादी छन् ।
यो समाचार आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया