साहित्यिक सर्जकहरुलाई पुरस्कार घोषणा

सोमबार, २५ बैशाख २०८०
विराटनगर । पन्ध्रौँ महानन्द पुरस्कार झापाको सुरुङ्गा निवासी सर्जक कोमलप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ । यस्तै, महानन्द प्रोत्साहन पुरस्कार इलामको चुलाचुलीका सर्जक सुन्दर कुरुपलाई प्रदान गरिने भएको छ । यसैगरी अग्रज साहित्यकार केशव आचार्यद्वारा स्थापित दोस्रो भवानी घिमिरे रङ्ग–पुण्य स्मृति पुरस्कार इलामका साहित्यकार विमल बैद्यलाई प्रदान गरिने भएको छ । यस्तै, साहित्यकार गोपालकुमार बस्नेतको प्रस्तावमा पूर्ण–तुङ्ग प्रतिष्ठान बिर्तामोड संस्थापक रहने गरी पहिलोपटक स्थापना भएको पूर्ण–तुङ्ग–हीरा आकाश स्मृति पुरस्कार पाँचथरका साहित्यकार प्रेम ओझालाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली साहित्य विकास समितिका सहसचिव रश्मिशेखरका अनुसार पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ र सम्मानपत्र छ । नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समिति एवं महानन्द स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा इलामको रोङ गाउँपालिकामा वैशाख ३० गते हुने कार्यक्रममा ती पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार