फिफा विश्वकप कतार २०२२ अन्तर्गत नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच विवादास्पद क्वाटरफाइनलमा मुख्य्य रेफ्रीको जिम्मेवारी निर्वाह गरेका स्पेनिस रेफ्री माटेउ लाहोज घर फर्किएका छन् ।
फिफाले विश्वकपको बाँकी खेलमा उनलाई कुनै खेलको जिम्मेवारी नदिने भएसँगै लाहोज स्पेन फर्किएका हुन् । क्वाटरफाइनलमा पहेंलो कार्डको वर्षा गरेपछि उनको निकै आलोचना भएको थियो । उनले खेल अवधिभर १७ पहेंलो कार्ड देखाएका थिए । नेदरल्यान्ड्स र अर्जेन्टिना दुवै टोलीका खेलाडी र प्रशिक्षकले उनको बारेमा नकारात्मक टिप्पणी गरेका थिए ।
अर्जेन्टिनी कप्तान मेस्सीले त लाहोजको नियुक्तिबारे नै फिफाले पुनस् सोच्नुपर्ने बताएका थिए । ‘मलाई लाग्छ फिफाले यसबारे सोच्नुपर्छ । विश्वकपजस्तो प्रतियोगिताको महत्त्वपूर्ण खेलमा यो किसिमको रेफ्री राम्रो थिएन । आशा छ फिफाले यसबारे आवश्यक कारवाही गर्नेछ,’ मेस्सीले भनेका थिए ।
अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्दैछ । उक्त खेलका लागि फिफाले इटालियन रेफ्रीको टोली नियुक्त गरिसकेको छ । इटालीका ड्यानीएल ओर्साटो खेलको मुख्य रेफ्री रहनेछन् ।
प्रतिक्रिया