विराटनगरको रानी नाकास्थित इलाका प्रहरी सीमा कार्यालय अगाडि भारतको जोगबनीबाट भन्सार छलेर ल्याएको अवैध कपडा गाडीमा लोड गरिरहेको अवस्थामा शुक्रबार राति विराटनगर भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिए ।
कर्मचारीहरूले एउटा भ्यान र चालकलाई समेत नियन्त्रणमा लिएर उक्त प्रहरी कार्यालय अगाडि राखेको अवस्थामा तस्करहरू आक्रमणमा उत्रिए ।
भन्सार कार्यालयको सीसीटीभी फुटेजमा देखिएअनुसार स्थानीय महिला तथा बालबालिकासहित आएका तस्कर समूहले कर्मचारीहरूलाई लछारपछार गर्दै सवारी, कपडा र नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाएर लगे । तर नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बसेको उक्त फुटेजमा देखिन्छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले प्रहरी कार्यालय अगाडि नै तस्करीको सामान गाडीमा लोड भइरहेको सूचना आएपछि सात कर्मचारीको टोली गएर नियन्त्रणमा लिएको बताए । सामानसहितको सवारी र चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी रानी सीमा अगाडि आइपुगेपछि प्रहरीले सुरक्षा दिनुको साटो कार्यालयभित्र पसेपछि उक्त घटना भएको उनले गुनासो पोखे ।
ढुंगानाले भने, ‘प्रहरीकै अगाडि तस्करी भइरहेको अवस्थामा नेपाल प्रहरी कार्यालयभित्र पस्ने र सशस्त्र प्रहरी मूकदर्शक बसेपछि तस्करको कुटाइ खान बाध्य भयौं ।’ यो घटनाले तस्करी नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको असहयोग उजागर भएको उनको आरोप छ ।
विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले १५ लाख मूल्यका ५ सय ५ बोरा मैदासहित पाँच जनालाई पक्राउ गरेको थियो । डब्लूबी ०२ भी २३४० भारतीय नम्बरको कार, को १ ख ३१४५ र को १ ख २३७६ नम्बरको मिनी ट्रक र को २ त १३०३ र मे १ त ७०५५ नम्बरको ट्र्याक्टरमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको मैदासहित नियन्त्रणमा लिइएको थियो ।
यी घटनाहरूले यहाँका सुरक्षा निकायले खुलेआम तस्करीको लाइन चलाइरहेको खुलासा भएको एक भन्सार अधिकृतको आरोप छ । ‘रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ?’ ती अधिकृतले भने, ‘चोरी तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षाकर्मी नै तस्करलाई सुरक्षा दिएर तस्करीको लाइन चलाएपछि कसको के लाग्छ ?’
प्रदेश १ स्थित भारतीय सीमा क्षेत्रमा ५ देखि ७ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका साथै नेपाल प्रहरीको समेत इकाइ रहेकाले पैदल गस्ती गरेरै चोरी नियन्त्रण गर्न सक्ने अवस्था रहेको एक सुरक्षा अधिकारीले बताए । सुरक्षाकर्मीले छुट नदिएसम्म यस प्रदेशमा कुनै किसिमको चोरी तस्करी सम्भव नभएको उनको बुझाइ छ ।
उक्त भन्सार कार्यालयले राजस्व चुहावट समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई लिखित पत्राचार गरेरै उक्त घटनाका बारेमा शनिबार जानकारी गराइसकेको छ । भन्सारको पत्रका आधारमा प्रजिअ दाहालले सम्बद्ध समितिको बैठक बोलाई एकअर्कामाथि आरोपप्रत्यारोप गर्नेभन्दा पनि माथि उठेर सबै सरोकारवाला निकायलाई एकजुट भएर संयुक्त रूपमा राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसएसपी जयराज सापकोटाले उक्त घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङलाई अनुसन्धान गरेर प्रतिवेदन पेस गर्न लिखित निर्देशन दिएको बताए ।
‘यस घटनामा प्रहरीको कमजोरी छ भने कारबाही हुन्छ,’ उनले भने । सापकोटाका अनुसार भन्सार प्रमुख ताराप्रसाद सापकोटा नेतृत्वको टोलीले सुरक्षा निकायलाई जानकारी नै नगराई तस्करहरूले ल्याएको सामान नियन्त्रणमा लिएपछि स्थानीयहरू भेला भएर मादक पदार्थ सेवन गरी भन्सार कर्मचारीले जथाभावी गरेको भन्दै नारा जुलुस गर्न थालेका थिए ।
इप्रका रानीका निरीक्षक आफंै खटिएर स्थिति नियन्त्रणमा लिनुका साथै भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर तस्करीको सामान पनि नियन्त्रणमा लिएको उनले दाबी गरे । तर प्रहरी टोली आएपछि तस्करीमा प्रयोग भएको भ्यान र चालक छुटाएर तस्करहरूले लगेको सीसी टीभी फुटेजमा देखिएको छ ।
कान्तिपूर दैनिकबाट
Discussion about this post