कविराज स्मृति पुरस्कार प्रदान

आइतबार, ०७ जेठ २०८०
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा कवि कविराज पोखरेल स्मृति साहित्य विशेष पुरस्कार साहित्यकार तथा पत्रकार व्याकुल पाठकलाई प्रदान गरिएको छ । ५० हजार १११ राशिको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. टङ्कप्रसाद न्यौपाने, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, पुरस्कार संस्थापक कौशिला पोखरेल, रन्जना पोखरेल लगायतले स्रष्टालाई हस्तान्तरण गरेका थिए । कवि कविराज पोखरेलले पुरस्कृत स्रष्टा व्याकुल पाठकको लेखनबाट प्रभावित भएर निधन हुनुअघि म नरहे पनि उल्लेखित राशिको पुरस्कार पाठकलाई दिनू भनेर परिवारबीच आफ्नो इच्छा व्यक्त गरेका थिए । परिवारका अनुसार कविको स्मृति दिवसको अवसरमा उनको इच्छाअनुरूप उक्त पुरस्कार प्रदान गरिएको हो । साहित्यकार व्याकुल पाठक तीन दशकदेखि साहित्य र पत्रकारिता क्षेत्रमा समर्पित स्रष्टा र सम्पादक हुन् । कार्यक्रममा गजलकारहरू मधु पोखरेल, देवी पन्थी, किशोर कोइराला, कविता केशरी, हरि कट्टेल, विनोद विवश, मुना आत्रेय, विमला पोखरेल, चिरञ्जीवी काफ्ले, टीका सुदिश निरौला, स्वीकृति रेग्मी, सन्तोष आचार्य, भुपाल अधिकारी, अजिता प्रधान, शकुन्तला मन्जरी लगायतले कविलाई स्मरण गर्दै गजल वाचन गरेका थिए । उक्त अवसरमा गीतकार नारद पोखरेलको गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममासाहित्यकारहरु खेम नेपाली, प्रा. डा. टङ्कप्रसाद न्यौपाने, विवश पोखरेल, दिङ्लाली कान्छोलगायतले कविराज पोखरेलको साहित्य जीवनबारे प्रकाश पारेका थिए । पुरस्कृत स्रष्टा पाठकले कविराज पोखरेलसँग आफ्नो प्रत्यक्ष भेट भएको सम्झना नभएको, तर उनको रचनासँग परिचित भएको विचार व्यक्त गर्दै आफूले यो पुरस्कार पाएकोमा आश्चर्य लागेको विचार व्यक्त गरे । पुरस्कृत स्रष्टाको परिचय कवि चूडामणि नेपाल अकिञ्चनले र कार्यक्रमको सञ्चालन कवि भेषराज पोखरेलले गरेका थिए । साहित्यकारहरू र पोखरेल परिवारको उपस्थितिमा उक्त कार्यक्रम हिमालय दर्शन कलेजको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार