‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ का यी सर्जक आफु वरपरको परिवेशलाई सरल र रोचक शैलीमा वर्णन गर्न सिपालु छन् । उमेरको उत्तरार्धमा पनि साथीसंगत बीच रमाइलो गरिरहनुपर्ने स्वभावका भोजपुरेले आफ्नो त्यहि गुण झल्कने हिसाबले जीवनका साना साना भोगाइहरुबाट निस्कने भावलाई यी लघुकथाहरुमा अभिव्यक्त गरेका छन् । आख्यान भइकन पनि पढिरहँदा कतिपय भोगाइ उनको आफ्नै हुन् भनेर बुझ्न पनि सकिन्छ ।
‘जुन बखत जस्तो घटनाले जसरी झस्का दिन्छ त्यसको चस्का नै मेरो मनको बुनोट बन्छ,’ भोजपुरे यी लघुकथाहरुको रचना बारेमा भन्छन्, ‘मानवीय भावानुभूतिमा रम्नु र त्यहि कुरा आफुलाई स्वान्त सुख दिने लेखनमा उतार्दा उतार्दै यो पुस्तक तयारभएको हो ।’
दुइ विषयमा उतिबेलै स्नातकोत्तर भोजपुरे लामो समय सरकारी सेवामा पनि संलग्न रहे । तर, उनको पहिचान भने साहित्य र संगीतको समानान्तर साधनामै स्थापित छ ।
भोजपुरेले यी लघुकथाहरु छ वर्षयता सिर्जना गरेका हुन् । ‘यीमध्ये अधिकांश कोरोना महामारीको समय सदुपयोग गर्दै लेखेको हुँ,’ भोजपुरे भन्छन्, ‘त्यो कालखण्डमा म छोरी ज्वाईं , छोरा बुहारी र नाती नातिना समिप अमेरिकातिर रहेकोले, प्रवासिँदाका नेपाली भोगाइहरु पनि यी कथाहरुमा समेटिन पुगेका छन् ।’
भोजपुरेकृत लघुकथा संग्रह ‘मुसुक्क म’ लाई नेपालयले एकसाथ भौतिक पुस्तक, इबुक र लेखककै वाचनमा अडियो बुकका रुपमा बजारमा ल्याएको पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् ।
प्रतिक्रिया