एकाकार (कविता)

विहीबार, ११ जेठ २०८०
लक्ष्मी रायमाझी खड्का
तिमीलाई
सम्झिन पाएकै छु
अझै मृदुमुस्कानमा
अल्मलिएकै छु
क्षितिजसँग माया साटेर
पश्चात्ताप भएकै
छैन मलाई!
किन थाहा छ ?
आँखाभरिको रमिता
मनभरिको खुसी
र मुटुभरिको माया
पहाड
र क्षितिज
र तिमीमा फरक छैन
न मिलनको खाँचो
न बिछोडको पीडा
बस्
यस जन्मको सार्थकता
तिमीमा समेटिएको म
ममा समाहित तिमी
यति भए पुगेन त?
गहकिलो सम्झनाको
भारी बोकेर
आनन्दमा डुब्नुको
अनि त्यही मीठो आभासमा
दिनचर्या कट्नुको मजा!
अलौकिक सुखानुभूतिमा
अल्मलिँदै अल्मलिँदै
बितेको समय
उही समयसँग
पत्तो नपाई
गाँसिएको प्रीति
र प्रीतिमा मिसिएको
बतासको स्पर्शमा
फुरुङ्ग पर्दै
पर्दै बतासिएको
मेरो मन
आहा !
तृष्णाको मोहनीमा
भाग्दै गरेको जीवन
कति मजा छ
तिम्रो
र मेरो एक धड्कन!!
–विराटनगर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार