राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउन माग गरेको छ ।
आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि आत्मालोचना गर्न अनुरोध समेत गरेको छ ।
“जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसिन व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्दछौँ”, आयोगद्वारा आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मेयर साम्पाङको उक्त स्ट्याटस सार्वजनिक भए लगत्तै दलित अगुवाहरूले फेसबुक मार्फत उक्त अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका थिए ।
प्रतिक्रिया