विमल वैद्य
म जन्मेको समयमा
मेरो शरिरमा कपडा थिएन
शब्दहरूको बोली थिएन
मेरो नाम थिएन
मेरो यावत परिचय थिएन।
म जुन बेला जन्मिए
त्यो समयमा
मेरो धर्म थिएन
मेरो जात थिएन
मेरो थर
गोत्र
संस्कार केही थिएन।
म जन्मेको घडीमा
साँवा अक्षरको ज्ञान थिएन
भुगोलले बाँधेको नागरिकता थिएन
थिएन राजनीतिको बन्धन
विचारको बोझ
जीवनको तनाव र हतार
खुसी र बिस्मात केही थिएन।
म जब जन्मिएँ
मेरो शरीरमा कपडा थिएन
लाज, घिन थिएन
थिएन शरम पनि
रहरहरू थिएनन्
महत्वाकांक्षाहरू थिएनन्
थियो त केवल
एउटा अबोध बाल्यपन।
म जब जन्मिएँ
मात्रै जन्मिनुको अर्थ थियो
उत्ति ठूलो परिभाषा पनि थिएन
पुज्नु पर्ने देउराली थिएन
भाक्नु पर्ने
थान, देवी र देउताहरू थिएनन्
ईश्वरलाई त मैले चिनेकै थिइनँ,
थियो भने ईश्वर कतै
मलाई जन्माउने
उनै मेरी आमाको कोख थियो
उनी नै मेरी ईश्वर थिइन् ।
***
प्रतिक्रिया