सेमन्त उपाध्याय
कसले भन्छ खाडीमा दुःख छ
नेपालीलाई कामको दुःख भएर मात्र
यहाँ कुलर जोड्नेको रवाफ हेर्नु त
खाडी २४ घण्टा सुत्ने कोठामा एसी
फ्यास वाला कम्बोट
नुहाउन चिसो तातो
बस सुतैकै ठाउँमा आउँछ
खाना मनलाग्दी पाइन्छ
भेज ननभेज, माछा, कुखुरा, बिफ
नेपालीले खाडी पसेरै जानेको
मटन बिर्यानी, चिकन बिर्यानी
ब्रेकफास्ट, लन्च र डिनर
कामदारको सुरक्षामा सम्वेदनशील छ खाडी
सीप नभए मात्र हो
जस्तो नि काम पाइन्छ
काम अनुसारकै दाम पाइन्छ
कस्ले भन्छ ?
सोचे जस्तो छैन खाडी
मैले नेपाङग्रेजी उतै सिकेँ
हिन्दीमा फतफताउन पनि
सीपको स नभएको म
प्रविधिको प्र जान्ने भा छु
शिक्षाको श नजानेको सहरिया
टरर्र अँग्रेजी बोल्छ
सचेत भा छ
उ ओटीको प्रत्येक मिनेट जोड्छ
सम्झौताअनुसार पेमेन्ट नभए मालिकको मुख फोड्छ
जी–हजुरी, चाप्लुसी कहिलै जानेन
आफ्नो स्वाभिमान बेचेर काम गर्दैन
बिद्रोही हुन्छ, अनुशासित हुन्छ
कसले भन्छ सोचे जस्तो छैन खाडी
एप्पलमा टिकटक बनाउँदै
महङगा निजी स्कुलमा
त्यो भटटट गर्ने बुलेट बटार्दै
एडिडास र नाइक जुत्ता बजार्दै
च्यातिएको पेन्ट टुइकेमुनि लगाएर
छेउघरे कान्छोको हैसियत कस्ले बनायो
तराईका स्याल कराउने झाडी
पहाडका बाँदर लड्ने भीर
सहरका गल्लीहरु
बाहरु खाडी नगएका भए
मूल्यहीन हुने थिए
जग्गा दलाल सम्झौँ त
भीर पाखामा हलो कोदालो गर्दै गरेको
मालपोतका कर्मचारी
भन्सारमा सरुवा माग्थे होलान्
पालिका चुनावमा कुनै उम्मेदवारी पर्दैनथ्यो
कसले भनो सोचे जस्तो छैन खाडी
सरकार
सरकार जस्तो भा छ
रेमिट्यान्सले भात खा छ
बिना ढेउवाके खाडी
नेताले कहाँ भन्न भ्याउथे र !
आमा र मातृभूमि
सिन्दुर र सुहाग
छानो, मानो र बाकस
यतिलाई बिर्सन सके
खाडी कमाल छ
गएकाले जहिले दुःख देखाउँछन्
न त्यहाँ घर कतिखेर मुन्टिन्छस् भन्ने छ
न बोतल र पेग गन्ने छ
न गाउँलेले देख्ने डर
न कसैको भर
होला कामको दुःख
कमाउनु पर्ने दामको दुःख
अरे यार कसले भन्छ खाडीमा दुःख छ ?
–इटहरी ५ सुनसरी
प्रतिक्रिया