धरान । दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव आज शुक्रबारदेखि धरानमा सुरु भएको छ ।
साहित्य कला संस्कृति प्रतिष्ठान धरान–१३ को आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा दुई दिनसम्म सञ्चालन हुने महोत्सव धरान–१३ लक्ष्मी चोकस्थित धरान बैंक्वेटमा सुरु भएको हो ।
महोत्सवको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले गरे ।
सहभागीहरुको स्वागतमा नेवार एकता समाज, किरात राई यायोक्खा धरान–१३, चैनपुर साँस्कृतिक महिला समूहले आ–आफ्नो साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले विकसित समाजका लागिभौतिक पूर्वाधारको विकास मात्र नभई वौद्धिक विकास हुनुपर्छ भनेर २०७४ सालमा आफु वडाध्यक्षमा निर्वाचित भएर आएपछि साहित्य कला प्रतिष्ठान गठन गरिएको बताए।
उनले साहित्यिक गतिविधिमा विगतको तुलनामा धेरै जनाको सहभागिता बढेको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईसहित चार जनालाई सम्मान गरिएको थियो ।
भारतको आसाम साहित्यक समाजले मन्त्री राईसहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, प्रा. डा. टंंकप्रसाद न्यौपाने र कवि बम देवानलाई आसामको जातीय पहिरन ‘जापी र सेलेङ’ लगाइ दिएर सम्मान गरिएको थियो ।
कार्यक्रममा कवि इन्दु योञ्जनको ‘अन्तिम सेलो’ कृति सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा कवि तथा साहित्यकारहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने, कविता गोष्ठी र अन्तरक्रिया गरिने प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठले बताए ।
औपचारिक कार्यक्रम अघि धरानको छाताचोकबाट कार्यक्रम स्थलसम्म विभिन्न जातीय साँस्कृतिक झाँकीसहित कवि, साहित्यकारहरुको टोलीले प्रभातफेरी निकालेको थियो ।
कार्यक्रममा नेपालका सातैवटा प्रदेशसहित, सिक्किम, दार्जिलिङ, आसामलगायतबाट कवि तथा साहित्यकार, कलाकर्मीहरुको सहभागिता रहेको प्रतिष्ठानका सचिव विष्णु चौलागाइले बताए ।
प्रतिक्रिया