साबुदाना बनाउन गाउँपालिकाले उद्योग सञ्चालन गर्ने

बुधबार, २४ असोज २०८०
टीका खतिवडा इलाम– चुलाचुली गाउँपालिकामा सिमलतरुलबाट साबुदाना बनाउन उद्योग सञ्चालन गरिने भएको छ । गत आर्थिक वर्षदेखि नै यसको कार्य प्रारम्भ भएको हो । जसका लागि गाउँपालिकाका किसानले पर्याप्त यसको खेती गरेका छन् ।
उद्योगमा बिक्री हुन्छ भनेर नै वडा नम्वर एक कमलका भुवनसिंह इवाको परिवारले करिब १८ कठ्ठा जमिनमा सिमलतरुल खेती गरेका छन् । इवाजस्ता धेरै किसानले चुलाचुलीमा परम्परागत रूपमा सिमतरुल फलाउँछन् । सिमतरुल कच्चा रुपमा नै बिक्री गरेर किसानले आम्दानी लिइरहेका छन् । ‘पाडाजुगीतिर लगेर सिमलतरुल बेच्ने गरेको छु । वार्षिक करिब दुईदेखि अढाइ लाखसम्म आम्दानी हुने गरेको छ’ उनले भने । चुलाचुलीका सबै वडामा सिमलतरुल व्यापक मात्रामा उत्पादन हुँदै आएको छ ।   परम्परागत रूपमा घरेलु मदिरा बनाउन, खाजाखान र पीठो बनाएर उपभोग गर्ने गरिएको छ । गाउँम नै उत्पादन प्रसस्त भए पनि नेपालमा भने सिमलतरुलबाट बनेका विभिन्न खाद्य पदार्थ आयात भइरहेको छ । वार्षिक एक अर्व ६० करोड बढी सिमलतरुलबाट बनेका खाद्यपदार्थ नेपाल भित्रिने गरेको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । सिमलतरुलबाट साबुदाना, आइसक्रिम, चिप्स र साबुनजस्ता चिज बन्ने गरेको छ । यसको मूल्य अभिवृद्धि गर्न पहल थालेको उनले बताए । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले सिमलतरुलको उत्पादन वृद्धिका लागि गाउँपालिकाले किसानलाई गत आवमा नै अनुदान उपलब्ध गराएको जानकारी दिए । ६ वटा विभिन्न कृषि फार्मसहित सिमलतरुल उत्पादन गर्ने किसानलाई २२ लाख १० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्षको अन्त्यमा संघीय सरकारबाट ताजा तरकारी फलफूल शीर्षकमा बजेट आएकाले सबै खर्च गर्न नसकेको अध्यक्ष केरुङले बताए । कोसी प्रदेश सरकारबाट समेत सहयोग उपलब्ध भएकाले वडा नंं. ३ मा सिमलतरुल प्रशोधन उद्योग सञ्चालन गर्न पहल गरिएको उनको भनाइ छ । एक बिघा जमिन निःशुल्क उपलब्ध भएकाले यसलाई प्रयोग गरी सिमलतरुल ब्रान्डिङका लागि उपयोग गरिने बताइएको छ । भारतलगायतका देशमा रहेका विभिन्न प्रकारका मेसिनरीको अध्ययन भइरहेको र प्रक्रिया पूरा गरेर मात्र उद्योग स्थापना गरिने बताइएको छ ।   सिमलतरुलमा अनुदान दिएको विषयमा गैरकिसानलाई अनुदान दिएको भनेर चर्चा भएको थियो । तर, किसानले भने सिमलतरुल रोप्ने सिजन भएकाले अनुदान आउँदा उम्रनै नपाई अनावश्यक हल्ला फिजाएको बताए । वडा नं. ५ की किसान दिलमाया राईले गाउँमा वास्तविकता नबुझी अनुदानको विषयमा केरकार गरेर किसानलाई हतोत्साहित बनाएको बताइन् । गाउँपालिकाले सिमलतरुलमा लगानी गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको उनको भनाइ छ ।   गाउँपालिकाले किसानहरूकै संलग्नतामा कम्पनी दर्ता गरी सिमलतरुल प्रशोधन उद्योग खोल्न पहल गरेको छ । सिमलतरुलबाट सावुदाना, पिठो र विभिन्न प्रकारका चिप्स उत्पादन गरी बजारसम्म पुर्‍याउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उद्योग व्यवस्थापनका लागि थप बजेट विनियोजन गर्ने जानकारी दिएको छ । अन्य बालीको तुलनामा कम मलपानी र कम मेहनतमा उत्पादन लिन सकिने सिमलतरुलको मूल्य अभिवृद्धि हुँदा गाउँपालिका क्षेत्रमा मात्र नभएर अन्य पालिकाको उत्पादनले समेत मूल्य पाउने देखिन्छ ।   परम्परागत रूपमा पाइने सिमलतरुलको तुलनामा पातको डाँठ रातो भएको चिनियाँ जातको सिमलतरुलमा किसानको आकर्षण भएको पाइएको छ । प्रतिबोट बढीमा ६ किलोसम्म फल्ने सिमलतरुल चुलाचुलीका बासिन्दाको मुख्य बाली नै साबित भएको छ । केही विवाद गरे पनि हाल विवाद नरहेको गाउँपालिकाले बताएको छ । हाल यसको उत्पादन सुरु भइसकेको छ । धेरैले घरमा प्रयोगसँगै बिक्रीसमेत गर्दै आएका छन् । यो वर्ष उद्योग स्थापनाका लागि सामान्य काम मात्र भएकाले आगामी वर्षबाट उत्पादित सिमलतरुल गाउँमा नै प्रशोधन गर्ने गरी लागिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार