गृहमन्त्री रवि लामिछानेले आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्ने बताएका छन्।
आफू नागरिकको सेवा र सहजताका लागि काम गर्न गृहमन्त्रीको जिम्मेवारीमा आएको भन्दै शुक्रबार सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन्।
उनले लेखेका छन्, 'नागरिकलाई सुरक्षित महुशुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्नेछु।'
उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएलगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेको पनि उनले बताएका छन्।
त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको उनले फेसबुकमा लेखेका छन्।
साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृतिको आफू सधैं आलोचक भएको भन्दै गृहमन्त्री लामिछानेले आकस्मिक अवस्थामा बाहेक आफूबाट यस्तो गतिविधि नहुने बताएका छन्।
त्यस्तै व्यक्तिगत कामका लागि कतै जानुपरे वा बिदाका दिनमा आफ्नै सवारी प्रयोग गर्ने र कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरे त्यसको हिसाब राज्यलाई बुझाउने पनि उनले लेखेका छन्।
प्रतिक्रिया