
टीका खतिवडा
इलाम– घिउ र चीजको बिक्री ठप्प भएको छ । दूधबाट निर्माण भएको घिउ र चीजको बिक्री ठप्प भएपछि उद्योगीहरू त्यस्ता उत्पादन स्टोरमा थन्क्याउन बाध्य भएका हुन् । विगतमा घिउको व्यापार चाडपर्वमा थामी नसक्नै गरी हुने गरेको भए पनि यो वर्ष नबिकेपछि समस्या भएको हो । पछिल्लो समय धेरै युवाहरूले डेरी उद्योगमा लगानी गरेका छन् । ऋण लिएर व्यवसाय गरेका युवाहरूलाई झनै समस्या भएको छ ।
किसानलाई भुक्तानी गर्न नसक्दा किसानहरू समेत मारमा परेका छन् । व्यवसायीले बाहिर बिक्री रोकिएको भन्दै किसानलाई भुक्तानी गरेका छैनन् ।
एक वर्ष अघिदेखी इलामलगायत देशैभर पशुहरूमा लम्पी स्किन रोग देखा परेको थियो । सोही रोगका कारण खपत कम भएको बताइएको छ । सरकारले दूधको मूल्य वृद्धि गरेपछि घिउको मूल्य बढेकाले उपभोक्ताबाट माग नै आउन छाडेको व्यवसायीहरू बताउँछन् ।
विदेश निर्यात हुने छुर्पीकै पनि माग कम हुन थालेको उनीहरूको भनाइ छ । सेतो पहाड डेरी उद्योग इलामका सञ्चालक मिलन खत्रीले करिब पाँचहजार किलो घिउ स्टोरमा रहेको बताए ।
उनीजस्तै धेरै व्यवसायीले नबिकेको घिउ तथा चीज स्टोरमा नै थन्क्याउनु परेको बताएका छन् । साना तथा ठुला डेरी गरी इलाममा करिब दुई सय वटा डेरी सञ्चालनमा रहेका छन् ।
सरकारको पोलसी नै परिवर्तन भइरहने समस्याले पनि व्यवसायीहरू निराश बन्दै गएको सेतो पडाड डेरी उद्योगका सञ्चालक खत्रीले बताए । छुर्पी भने विदेश निर्यात भइरहेको छ । तर पहिलाभन्दा केही असहज भने हुन थालेको उनको भनाइ छ ।
इलाममा उत्पादित छुर्पी कुकुरको आहाराका रुपमा भारत, जर्मन, अमेरिकालगायतका तेस्रो मुलुक निर्यात भइरहेको छ । नेपालको उत्पादनभन्दा बाहिरको उत्पादन मूल्य कम भएका कारण छुर्पीको भविष्य अन्योलमा पर्ने सम्भावना रहेको उद्योगीहरू बताउँछन् ।
घिउसमेत पछिल्लो समय नेपालको भन्दा सस्तो मूल्यमा बाहिरबाट उत्पादन भएर आएका कारण नेपाली उत्पादन थन्किएको अनुमान गरिएको छ । यो वर्ष चाडपर्वका समयमा पनि नौनी घिउ र चीज बिक्री राम्रोसँग हुन नसकेको व्यवसायीहरूले बताए ।
विगत ६ महिनादेखि यहाँको उत्पादन बिक्नै छाडेको छ । व्यवसायीहरूले उपभोक्ताबाट दशैंतिहारका बेला पनि अपेक्षाकृत ढंगले घिउ र चीजको माग नआएको बताएका छन् । सबै डेरीहरूले किसानबाट दूध संकलन गरी घिउ, चीज र छुर्पी उत्पादन तथा निकासी गरिरहेका छन् ।
इलाममा सञ्चालित डेरीहरूले कम्तीमा पाँच हजार किलोदेखि २० हजार किलो नौनी घिउ थन्क्याउनु परेको बताएका छन् । चीजको समेत उस्तै अवस्था रहेको उनीहरूको भनाइ छ । तर सबै डेरी उद्योगहरूले चीज बनाउँदैनन् ।
घिउभन्दा चीज कम नै उत्पादन गर्ने गरिएको छ । सूर्योदय नगरपालिकास्थित दुग्ध व्यवसायी संघका अध्यक्ष जगत महतले वैशाख महिनायता घिउ र चीज बिक्री हुनै नसकेको बताए । छिमेकी मुलुक भारतबाट सस्तो मूल्यमा दूध र घिउ आयात भइरहेको खबर सुन्नमा आएको उनको भनाइ छ ।
इलाममा उत्पादित वस्तुलाई राख्ने कोल्ड स्टोर नहुँदा अर्को समस्या देखिएको पनि उनले बताए । लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीसमेत अहिले चिन्तित हुन थालेका छन् । कोरोनाकालमासमेत यस्तो लामो समयसम्म समस्या झेल्नु नपरेको उनीहरूको भनाइ छ ।
गत वर्षसम्म नेपाली बजारमै खपत भइरहेको चीजसमेत यो वर्ष बिक्री हुन नसकेको नेपाल डेरी एसोसिएसनका इलामका अध्यक्ष लक्ष्मी थापाले बताए ।
प्रदेश सरकार र संघीय सरकार दुवैले बजारमा सहयोग नगरे व्यवसायीलाई मात्र नभएर किसानलाई समेत असर पर्ने उनको भनाइ छ ।
व्यवसायीहरूले भने भारत र बंगलादेशमासमेत पुगेर नेपाली घिउ र चीजको बजारका लागि पहल गरिरहेको बताएका छन् । व्यवसायीहरूले ६ महिनाअघिसम्म घिउ प्रतिकिलो ७०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म प्रतिकिलो बिक्री गर्दै आएको अध्यक्ष थापाले बताए । तर पछिल्लो समय पाँचसयमा समेत बिक्री हुन कठिन भएको उनको भनाइ छ ।
किसान महासंघमार्फत ध्यानाकर्षण
नेपाल किसान महासंघ इलामको अगुवाईमा हाल दूध र दुग्धजन्य परिकारको बिक्री मूल्य कम भएको भन्दै ज्ञापनपत्र बुझाइएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत कृषि मन्त्रालय र प्रधानमन्त्री समक्ष आइतबार ज्ञापन पत्र बुझाइएको हो ।
निर्यात कम भएका कारण किसान मारमा परेको भन्दै उचित मूल्य प्राप्तिका लागि ध्यानाकर्षण गरिएको महासंघ इलामका अध्यक्ष प्रेमराज गौतमले बताए । उनले यो समस्या तत्काल अन्त्य गर्न पहल गर्नुपर्नेसमेत बताएका छन् ।
विदेशी दूधको आयातलाई निरुत्साहन गर्न सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत ज्ञापन पत्र पठाइएको हो ।
किसानका समस्या समाधानमा लाग्न थप जाँगर मिलोस भनेर ध्यानाकर्षण गराइएको महासंघका सचिव कृष्ण बस्नेतले बताए । डेरी उद्योगहरूमा उत्पादन भएको घिउ र चीज नबिकेको भन्दै किसानलाई नै सञ्चालकले भुक्तानी गर्न आनाकानी गर्ने गरेका कारण पनि समस्या आएको उनले बताए ।
प्रतिक्रिया