इलाम, मङ्सिर : इलाममा खेलाइएको हाउजीको रकम सार्वजनिक भएपछि आयोजक निक्कै लज्जित भएको छ । आयोजक मध्येकै एक सदस्यले त मुख देखाएर हिँड्न नै लाज भएको बताए । बिङ्गो अर्थात् हाउजी जुवाजन्य खेलमा पर्दछ ।
प्रशासनकै अगाडी खुलेआम खेलाइएको यस खेलको रकम सामाजिक कार्यमा खर्च गर्ने भन्दै निकै उत्साहका साथ खेलाइयो । जिल्लावासीले समेत सामाजिक कार्यमा नै खर्च हुन्छ भनेर रमाइलो मान्दै पैसा तिरेर खेल खेले । तर रकम सार्वजनिक भएपछि खेल खेल्ने जिल्लावासी अचम्ममा परे ।
खेल असोज २८ गते देखि मङ्सिर ८ गतेसम्म खेल खेलाइएको थियो । सो खेलबाट पुरा ४१ दिनमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको बताइएको छ ।
आयोजकले पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको जानकारी दियो । पुरस्कारबाट २० लाख ५० हजार एक सय ५५ रुपैयाँ बाँकी रहेको उल्लेख छ । सोबाट समेत पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेल अवधिभरमा खर्च भएको हिसाब सार्वजनिक गरेको पत्रमा उल्लेख छ । बाँकी रहेको १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बैङ्कमा जम्मा भएको उल्लेख छ ।
मात्र अन्तिम दिनको हिसाबमा पनि यस्तो हुन्छ.....
मात्र अन्तिम दिनको हिसाब हेरौँ । हाउस फुल मार्फत १९ जनाले पुरस्कार पाए । एक सिरिजमा छ सय वटा टिकट हुन्छन् । टिकट पाँच सयका दरले बिक्री भए । छ सय गुणा पाँच सयले टिकट बेच्यो । १९ जनालाई हाउस फुल परेपछि १९ सयको आधा ९.५ त पर्छ नै ।
हिसाबमा छ सय गुणा पाँच सय गुणा ९.५ गर्दा पनि २८ लाख पचास हजार त सोझै पर्छ ।
बाइक लटरीको टिकट तीन हजार पाँच सय रकम लिइयो ।
९० जनालाई ३५ सयका दरले तीन लाख १५ हजार हुन्छ ।
पुरस्कारमा दिइएको मोटरसाइकलको मूल्य २ लाख ६६ हजार नौ सय पर्छ । सो बाट समेत ४८ हजार एक सय आयोजकलाई सोझै नाफा भयो ।
३ सिरिजका टिकटमार्फत क्यास लक्की ड्र मार्फत ३ जनालाई पुरस्कार पर्यो । सो दिनको क्यास लक्की ड्रको टिकटको मूल्य नगद एक हजार थियो । जसबाट समेत दुई लाख ७० हजार रकम प्राप्त भयो ।
आयोजकले तीन जनालाई ३५ हजारका दरले पुरस्कार वितरण गर्यो जसबाट एक लाख पाँच हजार खर्च भएर एक लाख ६५ हजार रकम बचत भएको देखिन्छ ।
१९ जनालाई ३१ हजार पाँच सयका दरले वितरण गर्दा पनि पाँच लाख ९८ हजार पाँच सय खर्च भयो ।
मोटर साइकल मार्फत आएको ४८ हजार, क्यास लक्की ड्र मार्फत एक लाख ६५ हजार र सामान्य टिकट बिक्रीबाट २८ लाख ५० हजार गरेर जम्मा ३० लाख ६३ हजार खुद आएको देखिन्छ ।
हाउस फुलमा छ लाख र अन्य छ लाख नै पुरस्कारमा खर्च भयो भने पनि जम्मा १२ लाख खर्च भयो ।
यो त एक दिन अर्थात् आयोजकको भाषा नै सापटी लिने हो भने पनि अन्तिम दिनको आयब्याय हो ।
सो भन्दा अघिल्ला ४० दिनको हिसाब खोइ रु सोझा सोझी हिसाब आयोजकले पुन सार्वजनिक गर्नु पर्ने जिल्ला वासीको भनाई छ ।
१९ वटा सिरिजको १९ सय वटा नै यदि टिकट बिक्री भएको भए सामान्य टिकटकै माथि उल्लेखित हिसाब भन्दा दोब्बर रकम जम्मा भयो ।
यो हिसाब अब कसले दिने ?
रकम सार्वजनिक हुनु अघि लेखा परीक्षण हुने कुरै भएन । किनकि अवैध खेलको रकम कसले गर्छ लेखा परीक्षण ?
तर इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यस विषयमा छलफल गराउने बताएका छन् ।
उनले इलाम नगरपालिकाले नै नेतृत्व गराएर खेलाइएको यस खेलका विषयमा आफुले छलफल गर्ने बताए ।
तर इलाम नगरपालिकाका प्रमुख देश बाहिर भएकाले समय लाग्ने उनको भनाई छ ।
प्रतिक्रिया